ललितपुर । फुलचोकी जंगलमा पाँच दिनदेखि हराइरहेका एक व्यक्तिलाई ललितपुर प्रहरीले सकुशल उद्धार गरेको छ। प्रहरीको निरन्तर खोजी र समन्वयात्मक प्रयासका कारण ४० वर्षीय सोमबहादुर तामाङको ज्यान जोगिन सफल भएको हो।
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–४ स्थायी घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–३ टौखेल बस्दै आएका तामाङ ११ फागुनदेखि फुलचोकी जंगल क्षेत्रमा हराइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले तत्काल खोजी कार्य अघि बढाएको थियो।
जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी प्रभाग बाडेगाउँ र प्रहरी प्रभाग गोदावरीबाट खटिएको संयुक्त प्रहरी टोलीले कठिन भू–भाग र जंगल क्षेत्रमा लगातार खोजी अभियान सञ्चालन गरेको थियो।
सोही क्रममा फागुन १० गते दिउँसो करिब १२ बजे गोदावरी नगरपालिका–३ अन्तर्गत फुलचोकी जंगलमा तामाङलाई अलपत्र अवस्थामा फेला पारिएको परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
उद्धारपछि उनलाई तत्काल सुरक्षित रूपमा बाहिर ल्याई आफन्तको सहयोगमा पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको गौतम मिश्रले बताए।
दुर्गम जंगल क्षेत्र, चिसो मौसम र जोखिमपूर्ण परिस्थितिका बीच पनि प्रहरीले निरन्तर खोजी जारी राख्दै पाँच दिनपछि सकुशल उद्धार गर्न सफल हुनु अत्यन्त प्रशंसनीय कार्य भएको स्थानीयवासीले बताएका छन्। समयमै गरिएको खोजी तथा समन्वयले सम्भावित ठूलो दुर्घटना टरेको छ।
ललितपुर प्रहरीले देखाएको तत्परता, मानवीय संवेदनशीलता र जिम्मेवारीबोधले नागरिक सुरक्षाप्रति प्रहरी प्रतिबद्ध रहेको सन्देश पुनः एकपटक स्थापित गरेको छ।
