काठमाडौं । आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सशस्त्र प्रहरी बल, नेपाल ले २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई निर्वाचन सुरक्षा अनुगमनका लागि खटाउने निर्णय गरेको छ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार ती एसएसपीहरू सोमबारदेखि आ–आफ्नो कार्यक्षेत्रमा परिचालित हुनेछन् ।
उनीहरूलाई प्रधान कार्यालय तथा प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागिएको हो ।
आइतबार भर्चुअल माध्यमबाट आयोजित निर्देशन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचन सुरक्षासम्बन्धी विशेष निर्देशन दिएका छन्।
उनले निर्वाचनअघि, मतदानको दिन र निर्वाचनपछिको अवधिमा उत्पन्न हुन सक्ने जुनसुकै चुनौतीपूर्ण परिस्थितिको सामना गर्न उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
