काठमाडौं । माघ २९ गते बिहान ६ बजेर २० मिनेट। काठमाडौं महानगरपालिका-१४ कलंकीको अर्धसुनसान सडक। धेरै पसल खुलेका थिएनन्, गल्लीहरू अर्धसुनसान थिए। कुलेश्वरस्थित क्याम्पस जाँदै गरेकी एक छात्राका लागि त्यो बिहान सामान्य दिन जस्तै सुरु भएको थियो।
तर केही क्षणमै अवस्था बदलियो। पछाडिबाट लम्किएको एक युवकले छात्रामाथि यौनजन्य दुर्व्यवहार हर्कत गर्छन्। घटनास्थल वरिपरि कोही थिएनन्। घटना केही मिनेटमै सकियो, तर त्यसको मानसिक असर भने गहिरो रह्यो। लगत्तै ती युवक घटनास्थलबाट फरार भयो।
ती छात्रा कुलेश्वरस्थित जनमैत्री कलेजमा स्नातक तह अध्ययनरत हुन्। सुरुमा स्तब्ध बनेकी उनले केही दिनपछि परिवार र साथीहरूको सल्लाहमा प्रहरीमा उजुरी दिने निर्णय गरिन्।
एसएसपी स्वयं चासोमा
उजुरी अघि बढाउनुअघि घटनाबारे जानकारी उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई गराइयो।
घटनाको प्रकृति सुनेपछि एसएसपी खड्का स्वयंले अनुसन्धानलाई प्राथमिकतामा राखे। ‘यस्ता प्रकृतिका घटनालाई सामान्य रूपमा लिन मिल्दैन,’ खड्का भन्छन्।
उजुरी दर्ता भएसँगै अनुसन्धान सुरु भयो।
सुरु भयो गोप्य अनुसन्धान
उजुरी दर्ता भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको एक टोलीले घटनास्थलको निरीक्षण गर्यो। प्रहरी स्रोतकाअनुसार, सुरुमा आरोपी अपरिचित भएकाले पहिचान चुनौतीपूर्ण थियो।
घटनास्थल आसपासका घर र पसलका सीसीटिभी फुटेज संकलन गरियो। बिहानको समयमा गतिविधि कम भएकाले फुटेज सीमित थियो।
तर फरक-फरक दिनका फुटेज हेर्दा एउटै युवक पटक–पटक उही क्षेत्रमा देखियो। कहिले गल्लीको मोडमा उभिएको, कहिले टाढाबाट हिँडिरहेका छात्रालाई नियालिरहेको।
यही फुटेज, पीडितको बयान र स्थानीय सूचनाका आधारमा प्रहरीले सर्कल साँघुरो बनायो। केही दिनको निगरानीपछि २८ वर्षीय गोपाल खड्का पक्राउ परे।
‘प्याटर्न क्राइम’को संकेत
अनुसन्धानले देखायो- यो एक पटकको आकस्मिक घटना मात्र थिएन।
अनुसन्धानमा खड्काले पछिल्लो डेढ महिनादेखि बिहानको समय रोजेर छात्राहरूलाई लक्षित गर्दै आएको संकेत भेटिएको छ।
प्रहरी स्रोतकाअनुसार, उनी कलेज जाने समय नियाल्थे। सुनसान गल्ली रोज्थे। एक्लै हिँडिरहेकी छात्रा भेटिएपछि नजिकिने र यौनजन्य हर्कत गर्ने शैली अपनाएको प्रारम्भिक निष्कर्ष छ।
प्रहरी स्रोत भन्छ, ‘हामीले फरक–फरक दिनका फुटेज हेर्दा एउटै व्यक्ति त्यही क्षेत्र वरिपरि घुमिरहेको भेट्यौँ। त्यो व्यवहार सामान्य थिएन।’
हालसम्म चार जना छात्रा पीडित भएको संकेत मिले पनि एक जनाले मात्रै औपचारिक उजुरी दिएको छ।
बाहिरी रुपमा ‘सामान्य जीवन’
खड्का बाजुराको बडिमालिका नगरपालिका–३ घर भई हाल काठमाडौं–१४ सुनारगाउँ बस्दै आएका थिए। उनले न्याथम कलेजबाट बीएचएम अध्ययन गरेका छन्।
हाल उनी कुपण्डोलस्थित एक होटलमा सेफको रूपमा कार्यरत रहेको खुलेको छ।
छिमेकीहरूका अनुसार, उनी सामान्य र शान्त स्वभावका देखिन्थे। ‘कहिल्यै यस्तो शंका लागेको थिएन,’ एक स्थानीयले भने।
खड्काको यस्तो ‘दोहोरो जीवन’ ले अनुसन्धानकर्तालाई पनि अचम्मित बनाएको छ।
पहिले पनि पक्राउ, माफी मागेर छुटेको
अनुसन्धानका क्रममा खड्का यसअघि पनि समान प्रकृतिको घटनामा पक्राउ परेको तर पछि माफी मागेर छुटेको जानकारी प्रहरीलाई प्राप्त भएको स्रोतले जनाएको छ।
यद्यपि, यसबारे आधिकारिक अभिलेख पुष्टि गर्ने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
यदि उक्त विवरण पुष्टि भयो भने यो घटनाले गम्भीर प्रश्न उठाउँछ- के समयमै कडा कारबाही नहुँदा अपराध दोहोरियो ?
कानुनी पाटो
प्रहरीले खड्कामाथि सार्वजनिक स्थलमा यौनजन्य गतिविधि तथा जबर्जस्ती दुर्व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।
कानुनी जानकारहरूका अनुसार, दोषी ठहरिए कैद र जरिवाना दुवै सजाय हुनसक्छ। अनुसन्धान अधिकारी भन्छन्, ‘अन्य सम्भावित पीडित अगाडि आए मुद्दा अझ बलियो हुन्छ।’
हाल खड्का प्रहरी नियन्त्रणमा छन्। थप प्रमाण संकलन, सम्भावित अन्य पीडितको बयान र डिजिटल विश्लेषण जारी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ
