काठमाडौं । धादिङबाट तरकारीका खाली क्रेट बोकेर हेटौँडातर्फ जाँदै गरेको गाडीबाट प्रहरीले १५३ केजी गाँजा बरामद गरेको छ।
बागमती गाउँपालिका–३ छपेलीस्थित प्रहरी चौकी भट्टेडाँडाको टोलीले बिहीबार बिहान नियमित चेकजाँचका क्रममा ना ३ च ४०५ नम्बरको हात्ती गाडीबाट उक्त परिमाणको लागुऔषध फेला पारेको हो।
कान्ती लोकपथ हुँदै जाँदै गरेको गाडीमा शंकास्पद रूपमा फल्स बटम (नक्कली तह) बनाइएको देखेपछि प्रहरीले सोधपुछ सुरु गरेको थियो। प्रहरीले खानतलासी गर्न थालेपछि चालक २८ वर्षीय नगेन्द्र श्रेष्ठ अचानक गाडी छाडेर जंगलतर्फ भागेका थिए।
प्रहरी टोलीले तत्काल घेराबन्दी गरी उनलाई घटनास्थलबाट करिब १२ किलोमिटर टाढा बागमती गाउँपालिका–२ बगुवाको जंगल क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
पक्राउ परेका श्रेष्ठ रुपन्देहीको रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ घर भई हाल मकवानपुरको हेटौंडा बस्दै आएका छन्। गाडीलाई मसिनो गरी चेकजाँच गर्दा भित्र लुकाई–छिपाई राखिएका १५ वटा पोकामा जम्मा १५३ केजी गाँजा फेला परेको ललितपुर प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गाँजा तथा ओसारपसारमा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिई चालक श्रेष्ठमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
