काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्ट बागमती प्रदेशको माघ महिनाका लागि सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन्।
हाल इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका भट्टलाई बागमती प्रदेश प्रहरी कार्यालयले कार्यसम्पादन, अपराध अनुसन्धानमा सक्रियता तथा प्रभावकारी प्रहरी कारबाहीका आधारमा उत्कृष्ट घोषित गरेको हो।
उनीलाई बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक रेग्मीले प्रशंसापत्र प्रदान गर्दै उत्कृष्ट कार्यशैलीको कदर गरेका हुन्।
प्रदेश प्रहरी कार्यालयका अनुसार भट्टले पछिल्लो समय विभिन्न आपराधिक घटनाको अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति–सुरक्षा सुदृढ बनाउन उल्लेखनीय योगदान दिएका छन्।
गोरखा निवासी भट्टले २०७० सालदेखि प्रहरी निरीक्षक पदबाट सेवा सुरु गरेका थिए। निरन्तरको व्यावसायिकता, अनुशासन र परिणाममुखी कार्यशैलीका कारण उनी संगठनभित्र सक्षम तथा प्रतिबद्ध अधिकृतका रूपमा परिचित छन्।
प्रदेशस्तरमा उत्कृष्ट प्रहरीको सम्मानले उनको नेतृत्व र कार्यकुशलताको औपचारिक मूल्यांकन मात्र नभई सम्पूर्ण टोलीको मनोबल उच्च बनाउने विश्वास गरिएको छ।
