काठमाडौं । नेपाली सेनाले जङ्गी अड्डामा आयोजना गरेको ‘पृतनापति समन्वयात्मक बैठक–२०८२’ सम्पन्न भएको छ। बैठकमा राष्ट्रिय सुरक्षा अवस्था, तालिमको प्रभावकारिता, बन्दोबस्ती व्यवस्थापन तथा समसामयिक सुरक्षा चुनौतीबारे विस्तृत समीक्षा गरिएको सेनाले जनाएको छ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पृतना स्तरमा भएका कार्यसम्पादनको प्रशंसा गर्दै पृतनापतिहरूलाई धन्यवाद व्यक्त गरे। उनले सकलदर्जाबीच सामूहिक भावना र एकता सुदृढ राख्दै ‘एकीकृत सुरक्षा योजना–२०८२’ अनुरूप अन्य सुरक्षा निकाय र सरोकारवालासँग प्रभावकारी समन्वयमा काम गर्न निर्देशन दिए।
आसन्न निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन नेपाली सेनाले आफ्नो तयारी र भूमिका अझ सशक्त बनाउनुपर्नेमा प्रधान सेनापति सिग्देलले जोड दिए।
उनले बदलिँदो सुरक्षा परिवेशलाई मध्यनजर गर्दै सूचनामूलक विश्लेषण, तालिम र परिचालन व्यवस्थालाई थप प्रभावकारी बनाउन आग्रह गरे।
बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्द तथा वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो। नेपाली सेनाले यस्ता समन्वयात्मक बैठकहरूलाई संगठनात्मक क्षमता अभिवृद्धि र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारीलाई थप मजबुत बनाउने माध्यमका रूपमा लिँदै आएको जनाएको छ।
