धनगढी। दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या गरिएको घटनामा बार सञ्चालकसहित सात जनाको संलग्नता खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बम रहेका छन्।
प्रहरीका अनुसार घटनामा संलग्न तथा सहयोगीको भूमिका खेलेका अन्य चार जना फरार छन्। फरार हुनेमा ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल तथा शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका राजेन्द्र डडाल रहेका छन्।
पक्राउ परेकी दिपिका पाल आशिक पालकी कान्छी श्रीमती भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको विषयलाई लिएर उनका श्रीमान् आशिक पालले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गरेको खुलेको छ।
पक्राउ परेकाहरूले दिएको बयानअनुसार आशिक पाल र उनका भाइले कुटपिट गरी हत्या गरेको दाबी गरेका छन्। यद्यपि, प्रहरीले उक्त बयानको सत्यापन प्रक्रिया जारी रहेको जनाएको छ।
एसएसपी विष्टका अनुसार घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनापछि फरार अभियुक्तहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
