गुल्मी । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि गुल्मी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी घरदैलो कार्यक्रम लिएर धुर्कोट ७ पुग्दा मतदाता भावविह्वल भएका छन् । आगामी निर्वाचनमा आफूलाई मतदान गर्न अनुरोध गर्दै पन्थी धुर्कोट ७ वाग्ला पुग्दा स्थानीयवासीको आँखामा आँशु देखियो ।
यसअघिका निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो समस्याको समाधान नगरेको र गोविन्द पन्थी त्यहाँ पुग्दा अब भने समाधान हुने विश्वासले आफ्नो आँखाबाट आँसु झरेको एक मतदाताले बताए ।
‘यहाँ शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै नै समस्या छ । अनि बाटोका साथै जंगली जनावरको आतंक पनि अर्को मुख्य समस्या हो, हामीले यसअघिका प्रतिनिधिलाई यो सबै भनेका हौं तर अहिलेसम्म समाधान भएन,’ उनी भन्छन्, ‘हामीले फेसबुक, टिकटक र युट्युवमा तपाईका बारेमा देखेका थियौं, तपाईं हाम्रो उम्मेदवार बनेको थाहा पाउँदा खुसी लागेको थियो, अहिले प्रत्यक्ष भेट्न पाउँदा खुसीले आँखाभरी आँसु भरिएको छ ।’
उनी मात्र नभएर त्यहाँ उपस्थित अन्य सर्वसाधारणको आँखा पनि आफूले खोजेजस्तो उम्मेदवार अगाडि पाउँदा खुसीले रसाएका थिए । अरुले नगरेपनि गोविन्द पन्थीले पक्कै नि गुल्मी २ लाई समृद्ध बनाउनेमा ढुक्क भएको उनीहरूको भनाइ छ ।
मतदाताहरूसँग कुरा गर्दै उम्मेदवार पन्थीले पनि उक्त क्षेत्रको सम्पूर्ण समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । ‘मलाई साह्रै नै दुःख लाग्यो तपाईंहरूको समस्या अहिलेसम्म पनि सुनिएन, अब भने त्यस्तो हुने छैन्, यदि म सांसद भएँ भने यो क्षेत्रको सबै समस्या समाधान गर्नेछु । तपाईहरूको म प्रतिको विश्वास टुट्न दिनेछैन्,’ उनले भने ।
पछिल्लो समय देशभर रास्वपाको क्रेज बढ्दै जाँदा गुल्मीमा पनि माहोल तातिएको छ ।
