काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले परम्परागत अपराधसँगै संगठित अपराध, साइबर अपराध र अन्तर्राष्ट्रियस्तरका अपराध बढ्दै जाँदा मुलुक तथा समाज झनै जटिल बन्दै गएको बताएका छन् ।
नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को उद्घाटन कार्यक्रममा बोल्दै आईजीपी कार्कीले प्रविधिको तीव्र विकाससँगै नयाँ प्रकृतिका अपराधहरू तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै तिनको नियन्त्रण तथा रोकथामका लागि रणनीतिक सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरेका हुन् ।
‘परम्परागत अपराधसँगै संगठित अपराध, साइबर अपराध र अन्तर्राष्ट्रियस्तरमा हुने अपराधले मुलुक र समाज जटिल बन्दै गएको छ । यसको रोकथामका लागि सम्मेलनमा गहन छलफल हुनेछ,’ उनले भने ।
आईजीपी कार्कीले समाजमा हुने अपराध नियन्त्रणका लागि विषयविज्ञको राय, सुझाव र अनुभवलाई आत्मसात् गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए । उनका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न किसिमका अपराध, त्यसको कारण, प्रवृत्ति तथा नियन्त्रणका उपायबारे विस्तृत छलफल हुनेछ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सम्मेलनमा संविधान, प्रहरी ऐन तथा प्रचलित कानुनअनुसार शान्ति सुव्यवस्था कायम राख्ने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै जनउत्तरदायी तथा व्यावसायिक प्रहरी सेवा प्रदान गर्ने विषयमा केन्द्रित छलफल हुनेछ ।
संघीय शासन प्रणाली कार्यान्वयनसँगै नेपाल प्रहरीको भूमिका, दायित्व र कार्यक्षेत्र बहुआयामिक बन्दै गएको भन्दै आईजीपी कार्कीले संगठनात्मक क्षमता, रणनीतिक सोच, प्रविधिको प्रयोग तथा अन्तरनिकाय समन्वयलाई अझ सुदृढ बनाउनु अहिलेको प्रमुख आवश्यकता र प्राथमिकता रहेको बताए ।
उनले डिजिटल सुरक्षा जोखिम, जलवायु परिवर्तनजन्य विपद् तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरूले प्रहरी सेवाको नीति र कार्यशैलीमा नवीन, व्यवहारिक र उत्तरदायी दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता देखिएको उल्लेख गरे ।
आईजीपी कार्कीले सम्मेलनका क्रममा हुने बहुआयामिक छलफल, अनुभव आदानप्रदान, बौद्धिक बहस र सुझावहरूले नेपाल प्रहरीको दीर्घकालीन योजना, रणनीतिक लक्ष्य तथा समयसापेक्ष कार्ययोजना निर्माणमा महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरे ।
