काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ को डेरामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटी दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ छन्।
उनीहरूले बालाजुस्थित सितादेवी गुरुङको घरमा रहेको बालेन साहको डेरा कोठामा चोरी गरेका थिए। मुख्य अभियुक्त राजवाहकलाई २३ माघमा बाँसबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी यसअघि पनि चोरीलगायत विभिन्न कसुरमा मुद्दा खेपिसकेका व्यक्ति हुन्।
नख्खु कारागारबाट फरार भएका राजवाहक पछिल्ला दिनमा पाँचवटा चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनको कोठाबाट राउटर, सीसी क्यामेरा, औजार तथा चोरीका सामग्री बरामद गरिएको छ।
खड्कालाई २४ माघमा जडिबुटीबाट पक्राउ गरिएको हो। उनी बैंकिङ कसुरमा फरार व्यक्ति रहेको खुलेको छ। चोरीका सामान बिक्रीमा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, सञ्जय श्रेष्ठलाई पनि २४ माघमा बालाजुबाट पक्राउ गरिएको छ। उनीविरुद्ध यसअघि जबरजस्ती करणीको मुद्दा चलेको देखिएको छ। श्रेष्ठको कोठाबाट ल्यापटप, डीभीआरलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
