वीरगंज । पर्साको राजनीतिमा यतिबेला सबैभन्दा ठूलो बहस एउटै विषयमा केन्द्रित छ- जनताको आवश्यकता बुझ्ने र सुन्ने नेतृत्व चाहिएको हो कि आफ्नै योजना र स्वार्थ थोपर्ने नेता?
यही बहसको केन्द्रमा नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुंगटाको नाम जोडिँदै गएको छ। स्थानीय स्तरमा बढ्दो असन्तोषले रुंगटाको राजनीतिक यात्रामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।
स्थानीय बासिन्दाकाअनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार विकास जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका मुद्दा क्षेत्रका प्राथमिक समस्या हुन्। तर रुंगटाको राजनीतिक सक्रियता ती विषयभन्दा बाहिर, चुनावी अंकगणित, शक्ति सन्तुलन र सीमित घेराभित्र मात्र सीमित रहेको आरोप बढ्दो छ।
विशेषगरी विगत करिब सात वर्षसम्म क्षेत्रसँग न्यून सम्पर्कमा रहेका रुंगटा चुनाव नजिकिँदै गर्दा मात्र जनतामाझ देखिन थालेको भन्दै मतदातामा आक्रोश छ। ‘वर्षौंसम्म नदेखिने नेता अहिले आएर हाम्रो हितको कुरा गर्छन्, यस्तो नाटक अब चल्दैन,’ एक स्थानीय मतदाताले प्रतिक्रिया दिए।
राजनीतिक विश्लेषकहरूका अनुसार रुंगटाको रणनीति जनतामा आधारित भन्दा पनि सत्ता, पहुँच र राजनीतिक व्यवस्थापनमा केन्द्रित देखिन्छ। यही कारण जनविश्वास क्रमशः घट्दै गएको उनीहरूको निष्कर्ष छ।
आलोचना र असन्तुष्टिलाई बेवास्ता गर्दै अघि बढ्ने शैलीले रुंगटालाई ‘सिजनल नेता’को छविमा झनै मजबुत बनाएको स्थानीयहरू बताउँछन्।
आज पर्साका मतदाता पहिलेभन्दा बढी सचेत छन्। भाषण, आश्वासन र फोटो सेसनले मात्र विश्वास जित्ने समय सकिएको उनीहरूको ठम्याइ छ। जनताको स्पष्ट सन्देश छ—क्षेत्रमै बसेर काम नगर्ने, समस्या नसुन्ने र जिम्मेवारी नलिने नेतृत्वलाई अब मतको आधार दिइँदैन।
यदि अनिल रुंगटाले अझै पनि जनभावनाभन्दा माथि आफ्नै योजना र सोचलाई राखिरहे भने यो चुनाव मात्र होइन, उनको समग्र राजनीतिक भविष्य नै जनताको कठघरामा उभिन सक्ने संकेत देखिन थालेको छ।
