काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाको नेतृत्वमा प्रहरी सेवामा पारदर्शिता, चुस्तता र सर्वसाधारणको प्रत्यक्ष पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित ‘बिचौलिया निषेध’ अभियान सुरु गरिएको छ।
यस अभियानअन्तर्गत अब सम्बन्धित कामका लागि आवश्यक व्यक्ति बाहेक अन्य बिचौलियाका रूपमा आउने जो–कसैलाई पनि काठमाडौं परिसरभित्र प्रवेशमा कडाइका साथ रोक लगाइएको छ।
प्रहरी सेवामा आम नागरिकको प्रत्यक्ष पहुँच बढाउँदै सर्वसाधारण र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।
पीडित व्यक्तिलाई ‘म प्रहरी कार्यालय पु¥याइदिन्छु, काम मिलाइदिन्छु’ भन्दै विचौलियाको भूमिकामा सक्रिय व्यक्तिहरूलाई पूर्णरूपमा निरुत्साहित गर्ने नीति अवलम्बन गरिएको हो।
परिसरमा कार्यरत एक प्रहरी अधिकृतका अनुसार अब कुनै पनि सेवाग्राहीको काम चिनजान, पहुँच, दबाब वा प्रभावका आधारमा नभई पूर्ण रूपमा कानुनी प्रक्रिया अनुसार हुने व्यवस्था गरिएको छ।
‘प्रहरी कार्यालय आउने सर्वसाधारणले निष्पक्ष र पारदर्शी सेवा पाउने वातावरण बनाइएको छ। अब न्याय पाउनका लागि बिचौलियाको सहारा लिनुपर्ने अवस्था हटाउन हामी सक्रिय छौं,’ उनले बताए।
एसएसपी थापाले जिल्ला प्रहरी परिसर काठमाडौं मात्र होइन, मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा समेत यही नीति लागु गरिएको स्पष्ट पारे। उनले भने, ‘सामान्यभन्दा सामान्य नागरिकले पनि बिचौलियाको भर नपरी सोझै प्रहरी सेवाबाट कानुनअनुसार न्याय पाउन सकून् भन्ने हाम्रो उद्देश्य हो।’
यस अभियानले प्रहरी सेवामा देखिँदै आएको बिचौलिया प्रवृत्तिलाई अन्त्य गर्दै विश्वास, पारदर्शिता र जवाफदेहितामा आधारित सेवा प्रवाहको नयाँ अभ्यास सुरु भएको विश्वास गरिएको छ। सर्वसाधारणले अब निर्धक्क रूपमा आफूलाई आवश्यक परेको कामका लागि प्रहरी कार्यालयसम्म पुगेर सेवा लिन सक्ने वातावरण बन्न थालेको बताइन्छ।
