- छेवाङ लामा
‘नाङ्लेभारेमा युवाहरू सडकमा ! टिप्पर आतंकविरुद्ध स्थानीय उठे — प्रहरी प्रशासन र टिप्पर व्यवसायीलाई तुरुन्त कारबाही गर !’
मंगलबार बेलुकी ७:४२ मा नाङ्लेभारे चौकीतर्फबाट करिब १५–२० वटा टिप्पर एकैपटक आइरहेका थिए । यही क्रममा जगाते देवीथानको मोडमा एउटा टिप्परले ओभरटेक गर्दै रंगसाइटतर्फ आउँदा, पौवाबाट आउँदै गरेको ट्याक्सीले इमर्जेन्सी ब्रेक मार्नुपर्यो ।
त्यसैबेला ट्याक्सीको पछाडि आएको मोटरसाइकल ठोक्किँदा छेवाङ लामा र राजु तामाङ घाइते भए । ट्याक्सी नभएको भए मोटरसाइकल सीधा टिप्परमुनि छिर्ने थियो र ठूलो दुर्घटना हुने थियो ।
यसरी दिनप्रतिदिन नाङ्लेभारेको स्थानीय समुदायलाई निरन्तर जोखिममा धकेल्ने टिप्परको आतंक अब तुरुन्त अन्त्य हुनुपर्छ ।
‘काम गरी खाने’ भन्ने आवरणमा गाउँलेलाई निचोर्ने, सर्वसाधारणको जीवनलाई खतरामा पार्ने, अनि प्रहरी प्रशासनले महिनावारीको मोहमा परेर ओभरलोड टिप्परलाई दिउँसै उपत्यकाभित्र निर्वाध घुम्न दिने जघन्य ज्यादती अब कुनै हालतमा स्वीकार्य छैन ।
स्थानीय समुदायको असह्य पीडा
ट्राफिक प्रहरी र टिप्पर चालक दुवै मिलेर गाउँलेलाई निरन्तर अत्ताउने, थिच्ने र सास्ती दिने अपराधको श्रृंखला चलाइरहेका छन् ।
‘काम गरी खाने’ भन्ने नाममा ओभरलोड टिप्पर २४ घण्टै अनवरत चलाउँदै सडकमा लापरवाहीको ताण्डव मच्चाइरहेका छन् ।
प्रहरी प्रशासनलाई महिनावरी खुवाएर कानुनलाई खुल्ला उल्लङ्घन गर्ने व्यवसायीहरू आज दण्डहीनताको खुला संरक्षण पाइरहेका छन् ।
सडकमा हिँड्ने हरेक साधारण नागरिकको जीवन दुर्घटनाको भय, मृत्युको जोखिम र अन्यायपूर्ण अत्याचारले ग्रस्त छ—यो समुदायको असह्य पीडा हो ।
स्थानीय युवाहरूको चेतावनी
हामीले काम गरी खाने मान्छेलाई रोक्ने होइन, तर अति नै ज्यादती गर्ने, ओभरलोड बोकेर हिंड्ने, नियम पालना नगर्ने र ट्राफिक प्रहरी र प्रहरी प्रशासनलाई महिना वरी खुवाएर अवैध रूपमा चल्ने टिप्पर आतंकलाई अब चुप लागेर सहन्न सक्दैनौं ।
हिजो हामीलाई पर्यो, भोलि तपाईंलाई पनि पर्छ । त्यसैले आज बेलुकी ७ बजे नाङ्लेभारे चौकीमुनि स्थानीय समुदाय र युवाहरू भेला भएर टिप्पर व्यवसायी र प्रहरी प्रशासनको विरुद्धमा ठोस कारबाही गर्ने निर्णय भएको छ ।

राज्यको कर्तव्य
बिहान ५ बजेदेखि बेलुकी ९ बजेसम्म काठमाडौं उपत्यकाभित्र टिप्पर प्रवेश पूर्ण रूपमा निषेध गरिएको आदेशलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ ।
कुनै पनि हालतमा ओभरलोड टिप्पर चल्न नदिइयोस् ।
महिनावारी खाएर नियम तोड्न दिने प्रहरी प्रशासन र ट्राफिक प्रहरीमाथि तुरुन्तै गम्भीर कारबाही गरियोस् ।
दुर्घटनामा घाइते भएका छेवाङ लामा र राजु तामाङलाई न्याय र उपचार सुनिश्चित गरियोस् ।
यो घटना र दुर्घटना केवल नाङ्लेभारे मात्रको समस्या होइन, उपत्यकाभरि छरिएको साझा पीडा हो । सडकमा सर्वसाधारणको जीवनलाई जोखिममा पार्ने आतंकलाई अब समुदायले सहने छैन । प्रहरी प्रशासन र ट्राफिक प्रहरीको पहिलो जिम्मेवारी समुदायलाई सुरक्षा दिनु हो, पेल्नु होइन ।
‘ओभरलोड बोकेर लापरवाहीपूर्वक सडकमाथि ताण्डव मच्चाइरहेका टिप्परहरूको आतंक तत्काल अन्त्य गरिनुपर्छ । सर्वसाधारण नागरिकको रगत, पसिना र जीवनको मूल्यमा सडकलाई रगताम्य बनाउने यो अपराध अब कुनै हालतमा सह्य छैन ।
महिनावारीको लोभमा कानून बेच्ने प्रहरी प्रशासन र ट्राफिक प्रहरीलाई कठोर, निष्पक्ष र उदाहरणीय कारबाही गर्नैपर्छ । नत्र भने, न्यायमाथि जनताको विश्वास चकनाचुर हुनेछ, र प्रहरीको भूमिका ‘सुरक्षक’ नभई ‘संरक्षक अपराधी’को रूपमा प्रमाणित हुनेछ ।
स्थानीय समुदायको असह्य पीडा, सुरक्षित जीवनको माग र न्यायपूर्ण आवाजलाई राज्यले तुरुन्तै सम्बोधन गर्नुपर्छ । यो माग मात्र होइन—जनताको अन्तिम चेतावनी हो, जसलाई बेवास्ता गर्ने हो भने सडक आफैं जनविद्रोहको मैदान बन्नेछ ।’
लेखक छेवाङ लामा नाङ्लेभारेका स्थानीय युवा हुन् ।
