- सुजन पन्त
काठमाडौं । न निजामती कर्मचारीजस्तो ट्रेड युनियन छ । न शिक्षण वा संस्थानमा सरकारी जागिर खानेजस्तो ‘पार्ट टाइम’ काम गर्न मिल्छ । कार्यालय समयको कुनै टुंगो छैन । काममा २४ घन्टै खट्न तयार हुनुपर्छ । भनेको बेलामा बिदा नपाउने समस्या त छँदैछ ।
नेपाल प्रहरी कर्मचारीका दुःख यतिमात्रै छैनन्, सबैभन्दा ठूलो दुःख तलबको हो । तलब राम्रो भए पनि यी सबै दुःख र असहजता भुल्न सजिलो हुन्थ्यो । त्यतिमात्र नभएर खाने रासन भत्तासमेत राम्रो छैन । २४ घण्टा सडकमा खटिने ती तल्लो दर्जाका प्रहरीहरुले खाने रासनमा समेत चरम विभेद छ ।
अहिलेको विद्यमान अवस्थाअनुसार प्रहरी हवल्दारको २९ हजार ६१७ र प्रहरी जवानको २८ हजार ७३६ रुपैयाँ तलब तोकिएको छ । जुन बढ्दो महंगीमा यो तलब न्यून हो । बढ्दो महंगीसँगै विशेष त सुरक्षा निकायहरूमा पनि प्रहरी कर्मचारीहरू नै सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् ।
जनताको शान्तिसुरक्षाका लागि २४ घन्टा पनि काममा खट्नुपर्ने नेपाल प्रहरीका जवानमा पनि प्रहरी भएर देशका लागि धेरै गर्दा आफ्ना लागि केही गर्न सकिएन भन्ने भावना विकास हुनु भनेको हाम्रो राष्ट्रिय सुरक्षा संयन्त्र कमजोर बन्नु हो । जसकराण तलबसुविधाकै कारण काममा आत्मसन्तुष्टि आएन भने त्यो देशकै लागि दुःखको विषय हो ।
यस्तै उनीहरुले पाउने रासन भत्तासमेत निकै कम छ । तपाई हाम्रा लागि २४सैं घण्टा सुरक्षामा खटिने प्रहरीको रासन भत्ता कति हुन्छ ? सुन्दा अचम्म लाग्न सक्छ, एक दिन अर्थात चार छाकका लागि २ सय १ रुपैयाँ मात्रै छुट्याइएको छ ।
प्रहरीले पाउने रासन भत्ता प्रहरीका लागि सहयोगी कुकुरकोभन्दा पनि कम हुन्छ । प्रहरीको सहयोगका लागि खटिने कुकुरले प्रत्येक दिन ४ सय ४२ रुपैयाँ पाउँछ । तर, यसरी दिनहुँ घामपानी नभनी ड्युटीमा खटिने तल्लो दर्जाका प्रहरीहरुको पक्षमा नेतृत्वले कहिल्यै बोलेको सुनिएन ।
बरु सशस्त्र प्रहरी बलका नेपालका आईजीपी राजु अर्यालले बेला बेला यो कुरालाई उठान गर्ने गरेका छन् । सार्वजनिक लेखा समितिमा समेत आईजीपी अर्यालले उक्त कुरा उठाउँदा उपस्थिति सांसदहरुले समेत चासो व्यक्त गरेका थिए । तर, नेपाल प्रहरीका नेतृत्वले यो कुरा अहिलेसम्म कहिँकतै उठाएको पाइएको छैन ।
यो त भयो, उनीहरुले पाउने तलब र रासनको कुरा । अझ सडकमा ड्युटी गर्ने तल्लो दर्जाका प्रहरीहरुको लत्ताकपडामा समेत चरम विभेद हुने गरेको छ । झुत्रो, च्यातिएको र वर्षौंदेखिको पुरानो कपडा लगाएर उनीहरु एकनासले आफ्नो ड्युटी गरिरहँदा संगठनका माथिल्लो निकायका सुरक्षा अधिकारीहरु सुकिलो, सफाचट्ट भएर हिँडिरहेका हुन्छन् ।
त्यतिमात्र नभएर अझ उनै सिपाही हवल्दारले पाउने लत्ताकपडाको ठेक्कामा चरम भ्रष्टाचार समेत हुने गरेको छ । यही विषय अहिले जोडबलका साथ उठिरहेको छ । जसकराण अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयले अनुसन्धान समेत थालिसकेको छ ।
यसरी जसले बढी सडकमा धुवाँ, धुलोको प्रवाह नगरी काम गर्छ, उसैलाई विभेद गरेर संगठन हाँक्ने नेतृत्वप्रति दया जागेर आउँछ । एक हिसाबमा हेर्ने हो भने चरम आर्थिक यातनामा काम गर्न बाध्य छन् नेपाली प्रहरीमा कार्यरत सिपाहीदेखि बरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मका अधिकारी ।
जसकारण पछिल्लो समय नेपाल प्रहरीमा राजीनामा दिएर जागिर छोड्ने तल्लो तहका प्रहरी कर्मचारीहरूको सङ्ख्या बढेको छ । मुलुक संघीय संरचनामा गएसँगै सेवा सुविधा र वृत्तिप्रति असन्तुष्टि जनाएर राजीनामा गर्नेहरूको सङ्ख्या बढेको हो ।
देशका सुरक्षामा खट्नुपर्ने अनुहारमा आर्थिक कारणले नै अँध्यारो आउनु राम्रो संकेत हैन । एउटा प्रहरी जवानले गर्वसाथ आफ्नो पेसाको कमाइले दैनिकी सहज सञ्चालन गर्न सक्नुपर्छ ।
जसरी कोरियामा घोटिएर काम गर्नेहरू लाख बढी रकम पाएपछि दुःख बिर्सन्छन् । भारतीय वा बेलायती सेनामा काम गर्नेहरूले तलब पाएपछि जागिरका असहजता स्वाभाविक ठान्छन् । त्यसरी नेपाल प्रहरीमा काम गर्ने तल्लो दर्जाका कर्मचारीको मनोबल बढाउन आवश्यक छ ।
