काठमाडौं । नेपाली सेनाको क्याप्टेन ढालबहादुर थापा २५ वर्षसम्म देश र जनताको सुरक्षामा निरन्तर खटिए । जागिर खाँदा खाएको कसममा कटिबद्ध भएर उनले कहिल्यै सेनालाई विवादमा ल्याएनन् ।
देश र जनताको सुरक्षामा खटिने उनै क्याप्टेन थापा विगत लामो समयदेखि बिरामी भएर छट्पटाइरहेका छन् । उनलाई लागेको रोग निकै जटिल, घातक अनि दीर्घ रोग हो । उनको उपचारमा संलग्न डाक्टरहरूको भनाइअनुसार उक्त रोग हजारौँमा एकजनालाई हुने कुरा हो ।
तर, उपचार सम्भव भएको चिकित्सकहरुले बताएको थापा बताउँछन् । उपचार सम्भव हुने भएपछि थापाले सुरुमा आफ्नो आर्थिक अवस्थाले धानुञ्जेल आर्थिक जोहो गरे । सैनिक कल्याणकारी कोषमा भएको रकमदेखि जग्गा बेचेर उपचार गरे अझै निको भएको छैन ।
स्वास छउन्जेल आश हुन्छ भनेझैं उनले आफ्नो मर्ने चाहनालाई बिर्सेर उपचारको लागि कस्सिए । जुनकुरा उनले २५ वर्षदेखि जागिर खाएको संगठनले पनि पहल गरिदिनुपथ्र्यो । तर, संस्थामा मानवताको हिसाबले सहयोग गरिदिनुस् भनेर बारम्बार प्रयास गरेपनि केही नभएको उनले गुनासो गरे ।
त्यसपछि उनले सार्वजनिक रुपमै चन्दा उठाएर उपचार सुरु गरे । अहिलेपनि पुनः उनी सार्वजनिक रुपमा चन्दा उठाएरै चौथोपटक प्रत्यारोपणको तयारीमा रहेका छन् । तर, संगठन प्रमुख अशोकराज सिग्देलले अभिभावकीय जिम्मेवारी बोक्न नसक्दा उनी संगठनप्रति नै आवेगमा आएका छन् ।
उनको छट्पटाहलाई नेमाली सेनाले मात्र नभएर राज्यले पनि वेवास्ता गरिरहेको छ । उपचारमा कठिनाई भइरहँदा देखेपनि नदेखेझैं गरी राज्य र संगठन वास्तै नगरी बसेको हो । २५ वर्षसम्म सकुशल भएर जागिर खाएकै संगठनले पनि उपचारमा वास्तै नगरेपछि उनले गुनासो पोख्दै सहयोगको अपिल गरेका छन् ।
उनले उपचारका क्रममा भएको धनसम्पत्ति सकिएको सामाजिक सञ्जालमार्फत् जनाएका छन् । उपचारका लागि विभिन्न सामाजिक सञ्जालहरुको प्रयोग गरिसकेका उनले पछिल्लोपटक सहयोगको अपेक्षाासहित आफ्ना मनमा लागेका कुराहरु सामाजिक सञ्जालमा विसाएका छन् ।
उनै ढालबहादुरको जिउने आशालाई केही हदसम्म भए पनि सहयोग पुगोस् भन्दै उनको सामाजिक सञ्जालको स्टाटस जस्ताको तस्तै प्रकाशित गरिएको छ ।
अनुत्तरित प्रश्नहरू ???
आजकाल मलाई एउटा प्रश्न सोधिन्छ। साँच्चै तपाईँ नेपाली सेनाको वहालबाला अधिकृत अर्थात् क्याप्टेन हो? त्यसको जिउँदो प्रमाण म स्वयं नै हुँ। अनि म निर्धक्कसँग भन्छु हो। अब आउँछ प्रश्नको ओइरोहरू प्रमाणित नै गरेर देखाउनुपर्ने हुन्छ। किन? कहाँ? के? कसरी? कसले? कसलाई? म प्रश्नहरूको अन्धकारलाई चिर्ने प्रयास गर्दछु। म आफूलाई म नै भएको, सास फेरिरहेको अझै आश नमरेको प्रमाणित गर्ने प्रयास गर्दछु। अझै पनि विश्वास दिलाउन सक्दिन। यस्तो पनि हुन्छ र? हैन होला? तपाईंले मजाक गर्नुभएको होला?
म बिरामी भएको तीन वर्ष ६ महिना पूरा भएछ। मलाई लागेको रोग निकै जटिल, घातक अनि दीर्घ रोग पनि हो। सुरुमा मेरो स्पाइन (ढाड) मा मासु पलाएको हो। ढाडको सर्जरी पश्चात बिस्तारै कम्मरमुनिको प्यारालाइसिस, बायोप्सी जाँच गर्दा पहिला बोन टिभी र दोस्रो पटक जाँच गर्दा रगतको क्यान्सर हाइ ग्रेड नन हड्किन्स लिम्फोमा नेपालमा ६ वटा केमो भारतमा एकपटक बोनम्यारो प्रत्यारोपण र चीनमा दुईपटक कार्टिसेल अब पुनः भारत मा बोनम्यारो परत्यारोपणको लागि जाने तयारी। मेरो उपचारमा संलग्न डाक्टरहरूको भनाइ अनुसार म जुन अवस्थाबाट गुज्रिरहेको छु यो हजारौँमा एकजना लाई हुने कुरा हो।
मेरो आर्थिक अवस्थाले धानुञ्जेल मैले आफैले उपचारको लागि आर्थिक जोहो गरे। मैले सैनिक कल्याणकारीबाट पाउने सहुलियत पनि लिए यो कसैले दया धर्मले दिएको होइन। यो मैले पाउने अधिकार हो। मैले मेरो संस्थामा मानवताको हिसाबले सहयोग गरिदिनुस् भनेर बारम्बार प्रयास पनि गरे।
अहिले म यस्तो आर्थिक अवस्थामा छु समाउने हाँगो पनि छैन टेक्ने जमिन पनि छैन। यही संस्थामा २५ वर्ष सेवा गरेको मैले मानवताको नाताले केही सहयोग जुटाइदिनुस् भनेर प्रयास नगरेको होइन। संस्थाले यो कुरालाई आफ्नो दायित्व ठानेन र मैले जबरजस्ती गर्न पनि सकिन।
अहिले म चन्दा उठाएर चौथोपटक प्रत्यारोपणको तयारीमा छु। तर यो संस्थागत रूपमा भने होइन। इन्द्रेणी कार्यक्रमको फेसबुक पेज र युट्युब च्यानलमा मैले सम्पूर्ण देशविदेशमा रहनुहुने आमाबुवा दाजुभाईहरूसँग मेरो जीवन रक्षाको लागि मलाई आर्थिक सहयोग गरिदिनुस् भनेर आह्वान गरेको छु। मैले यो संस्थाबाट मौखिक स्वीकृति लिएर गरेको हो।
हामीले यो भन्दा अगाडि पनि मेरो र मेरो श्रीमतीको सोसियल साइटबाट आफन्त इष्टमित्र चिनेजानेका साथीभाइहरु मार्फत केहि आर्थिक सहयोग संकलन पनि गर्यौँ। सम्पूर्ण सहयोगीहरूमा हार्दिक आभार व्यक्त गर्दछु।
संस्थागत हिसाबले गर्ने हो भने मेरो संस्थामा लगभग १ लाख कार्यरतै संख्या छ। प्रति व्यक्तिले रु १०० नै चन्दा दिएको भए पनि मेरो यो आर्थिक समस्या विषम परिस्थितिको सहजै समाधान हुने थियो। आखिर मैले जहाँ उठाए पनि चन्दा नै त उठाएर उपचार गरे र गर्ने तयारीमा छु। हुन त मेरो संस्थालाई यो कुराले खासै फरक नपार्ला तर मलाई बारम्बार सोधिने अनुत्तरित प्रश्नहरूले मलाई सताइरहन्छ। घच्घचाइरहन्छ। अझै पनि मलाई आश मरेको छैन मेरो आशामा तुसारापात हुँदैन भन्ने विश्वास छ।
के तपाईँ नेपाली सेनाको बहालबालै क्याप्टेन हो???
सम्पूर्ण सहयोगीहरुमा विशेष धन्यवाद।
क्याप्टेन ढाल बहादुर थापा एवं परिवार।
