काठमाडौं । २७ दिनदेखि प्रदेश प्रहरी प्रमुखदेखि प्रहरीको अन्य महत्त्वपूर्ण विभाग नेतृत्वविहीन भएको छ । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरसहित पाँच अतिरिक्त प्रहरी महानीरीक्षक (एआईजी) र तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएपछि प्रहरीको महत्त्वपूर्ण विभाग नेतृत्वविहीन भएको हो ।
कुँवरसहितका उच्च प्रहरी अधिकारीले गत ४ चैत २०८१ मा अनिवार्य अवकाश पाएका थिए । तर, अवकाश पाएपछि नेतृत्वविहीन भएका प्रदेश र अन्य महत्त्वपूर्ण विभागमा बढुवा प्रक्रिया रोकिँदा प्रहरी प्रमुखविहीन बन्न पुगेको छ ।
सरकारले आईजीपीमा दिपक थापालाई नियुक्ति गर्नुबाहेक अन्य उच्च प्रहरी अधिकारीको बढुवा प्रक्रिया नै बढाएको छैन । बढुवा प्रक्रियामा जान अझै केही दिन लाग्ने प्रहरी प्रधान कार्यालयको बुझाइ छ ।
प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)देखि माथिको बढुवा गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले नियुक्त गर्ने व्यवस्था छ । एआईजी र डीआईजी बढुवा रोकिँदा एसएसपी, प्रहरी उपरीक्षक (एसपी), नायब उपरीक्षक (डिएसपी) र निरीक्षक (इन्स्पेक्टर)सम्मको बढुवा रोकिएको छ ।
यी हुन् नेतृत्वविहीन भएका प्रदेश र विभाग
प्रदेश प्रहरी कार्यालयहरू गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रहरी नेतृत्वविहीन छन् । यी तीन वटै प्रदेशका डीआईजीहरु ४ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए ।
डीआईजी प्रमुख हुने प्रदेशहरू हाल एसएसपीको भरमा चलेका छन् । अहिले गण्डकी प्रदेशको कमाण्ड एसएसपी महेन्द्र खड्काले गरिरहेका छन् । कर्णालीको कमाण्ड एसएसपी शिवकुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेशको कमाण्ड एसएसपी प्रकाश मल्लले गरेका छन् ।
त्यसरी नै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, कार्य विभाग, मानव स्रोत विकास विभाग, प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो जस्ता महत्त्वपूर्ण विभाग प्रहरी प्रमुखविहीन छन् । जहाँ एआईजी प्रमुख हुनेछन् ।
एआईजी प्रमुख भएका विभागहरू हाल डीआईजीको भरमा चलेका छन् । निमित्तका भरमा प्रहरी कार्यालय चल्दा अपराध अनुसन्धानदेखि ठूला घटनामा निमित्त प्रहरी प्रमुखले जोखिम मोल्न अप्ठेरो हुने गर्छ ।
त्यस्तै कुनै केस आएको अवस्थामा निमित्त प्रहरी प्रमुखले जोखिम मोल्नै नचाहने एक पूर्वआईजीपी बताउँछन् । ‘भोलि प्रहरी प्रमुख आइहाल्छन् । मैले निकै खोजिम मोल्ने भन्ने मनशाय निमित्त प्रहरी प्रमुखमा हुन्छ,’ ती पूर्वआईजीपीले भने ।
एआईजीका मुख्य दाबेदार
एआईजीको दौडमा २७ कात्तिक २०५२ मा प्रहरी निरीक्षकमा भर्ना भएका टोली मुख्य दाबेदार हुन् । सीआईबीमा कार्यरत डीआइजी चन्द्रकुवेर खापुङ, मधेश प्रदेशमा कार्यरत लालमणि आचार्य, बागमती प्रदेशमा कार्यरत कृष्णहरि शर्मा मुख्य प्रतिस्पर्धामा छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशनका डीआइजी दानबहादुर कार्की, प्रहरी एकेडेमीमै कार्यरत रहेका डा. मनोज केसी, कोशी प्रदेश प्रहरी प्रमुख राजन अधिकारी एआईजीको दाबेदारमा रुपमा छन् । उनीहरु २०५४ चैत १८ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
त्यस्तै विशेष ब्यूरो प्रमुख सिद्धिविक्रम शाह, प्रशासन विभागमा कार्यरत सुशील सिंह राठौर र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय कार्यरत उमाप्रसाद चतुर्वेदी दाबेदार हुन् । उनीहरु भने ५ पुस २०५३ मा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् ।
गृहस्रोतका अनुसार यीमध्येबाट २०५२ कात्तिक २७ र २०५३ पुस ५ गते भर्ना भएको टोलीको सम्भावना बढी छ । २०५४ चैत १८ मा भर्ना भएको टोली अघिल्लो दुई टोलीपछि पनि नेतृत्वमा पुग्ने भएकाले उनीहरुको सम्भावना न्यून रहेको छ ।
प्रहरी नियमावलीमा एआईजी बढुवा गर्दा कार्यसम्पादन गर्न सक्ने क्षमता, उत्तरदायित्व बहन गर्न सक्ने खुबीका आधारमा सरकारले उपयुक्त व्यक्तिलाई बढुवा गर्ने व्यवस्था छ । एआईजी बढुवाका लागि गृहसचिवको नेतृत्वमा प्रहरी महानिरीक्षक सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ ।
डीआईजी बढुवाको दौडमा को–को ?
एआईजी बढुवापछि हुने डीआईजी बढुवाका लागि ओम बहादुर राना, माधव श्रेष्ठ, दिपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शन प्रसाद कोइराला, दिपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र गुरुगं, संजिव दास शर्मा, शारदा प्रसाद चौधरी बढुवामा प्रतिस्पर्धी हुन् ।
त्यसैगरी, विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दिप शमशेर जबरा, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, गंगा पन्त, कृष्ण बहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन पनि बढुवाको आकांक्षी हुन् ।
डीआईजी बढुवाका लागि गृहसचिवको नेतृत्वमा प्रहरी महानिरीक्षक सदस्य सचिव र एआईजी सदस्य हुने प्रहरी नियमावलीमा व्यवस्था छ ।