अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीको बेग्लै छवि छ । त्यो इज्जत छोटो समयमा प्राप्त गरेको हैन । लामो समयको काम, कर्तव्य र जिम्मेवारीले प्राप्त गरेको हो । अपराध अनुसन्धानमा खरो उत्रन तथा संगठित अपराध न्यूनीकरणमा नेपाल प्रहरीले राम्रो दख्खल राख्छ ।
पछिल्लो समय प्रहरीलाई सबैले चलाउन र नियन्त्रणमा लिन खोज्ने तर जवाफदेहिता नलिने प्रवृत्ति बढ्दो देखिन्छ । राम्रो काम हुँदा जस लिन सबै अघि सर्ने तर नराम्रो हुँदा प्रहरीलाई थुपार्ने चलन छ ।
गत शुक्रबारको तिनकुने घटना माथिकै उदाहरण हो । उक्त घटनामा प्रहरीलाई दोषी देखाएर राजावादीहरु उम्किन खोजेका छन् । प्रहरीकै कारण आन्दोलन हिंसात्मक बन्न पुगेको भन्दै आफ्नो गल्तीहरु ढाकछोप गर्न लागिपरेका छन् ।
प्रहरी राज्यको सुरक्षाप्रदायक अंग हो । सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य प्रहरी संगठनको हो ।
सोहीकारण राज्यद्वारा प्रदान गरिने सार्वजनिक सुरक्षाका सन्दर्भमा प्रहरी सदा अग्रपंक्तिमा रहन्छ । सर्वसाधारणको दैनिकीमा प्रहरीको क्रियाकलाप प्रत्यक्ष वा परोक्ष रूपमा देखिने भएकाले उक्त दिन पनि काठमाडौं प्रहरी सोही रणनीतिअनुसार फिल्डमा खटिएको थियो ।
तर, त्योदिन राजावादी आन्दोलनका कमाण्डर मानिएका दुर्गा प्रसाईंले सुरुमै प्रहरीको घेरा तोडेर गाडी चलाएपछि आन्दोलन भड्किएको हो । जुनकुरा तपाईं-हामीले भिडिओमा प्रष्ट देखेका छौं । भिडियोमा प्रसाईंले चर्को स्वरमा आइज आइज भन्दै सुरक्षामा खटिएका प्रहरीलाई वेवास्ता गरेर गाडी चलाएका छन् ।
यसरी आफैं सुरुमा आन्दोलन भड्काउने हिसाबले प्रहरी घेरा तोडेर अघि बढेका प्रसाईं र राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र पछि झनै आक्रामक बन्दै समर्थकहरुलाई उचाले, प्रहरी घेरा तोड, बानेश्वरतिर अघि बढ् । प्रहरी घेरा तोड यस्तै नारा लगाउँदै ।
त्यसपछि राज्यको सुरक्षाप्रदायक अगं प्रहरीले निषेधित क्षेत्र तोडेर बर्बराउँदै हिँडेका प्रसाईलाई नियन्त्रणमा लिन खोज्यो । तर, उनका कथित समर्थक (आन्दोलनका नाममा हिंसा गर्ने) हरुले उल्टै प्रहरीमाथि ढुंगामुढा गर्न थाले । जुनकुरा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओहरुमा देख्न सकिन्छ ।
भिडिओमा प्रहरीहरु कति संयमित भएर बसेका रहेछन् देख्न सकिन्छ । कुटाईसँगै ढुंगामुढा हुँदासमेत उल्टो सुरक्षासेफ्टीले छेकेर बसेका छन् । तब अति भयो, अनि मात्रै प्रहरी प्रदर्शनकारीहरुमाथि जाइलागेको हो । ज्यान नै लिने अवस्था देखेपछि प्रहरीले ती कथित आन्दोलनकारीहरुविरुद्ध हतियार उठाउन बाध्य भएको हो ।
फिल्डमा खटिएका ती सुरक्षाकर्मीले सुरुमै चाहेको भए आफ्नो ज्यान बचाउनको लागि भन्दै गोली हान्न सक्थेनन् होला ? अवश्य सक्थे । तर, संयमित भएर आफूहरुले कुटाई खाइरहँदा पनि ती सुरक्षाकर्मीहरुले हतियार उठाएनन्, संयमित भएर बसेका उनीहरुले आफ्नो ज्यान नै जानसक्ने अवस्था देखेपछि मात्र अश्रुग्यास र हवाई फायर गरेका हुन् ।
आन्दोलन झनै हिंसात्मक बन्दै गएपछि मात्र प्रहरीले गोली चलाएको हो । जुनकुरा ती आन्दोलनकारीहरुलाई मन परेको छैन । उनीहरु प्रहरीले दमन गरेपछि हामी बाध्य भएर प्रतिकारमा उत्रिएको भन्दै बर्बराउन थालेका छन् । मिडियामा गएर ‘चर्को चर्को’ स्वरमा बोलेर ती आफ्नो ड्युटीमा खटिउका प्रहरीहरुमाथि दोष थुपार्ने षड्यन्त्र गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा उच्च छवि बनाएको ती सुरक्षाकर्मीहरुको संयमितताले गर्दा उक्तदिन धेरैजनाको ज्यान जोगियो । राम्रो काम गर्दासमेत जस नपाउने ती प्रहरी चाहिँ नेपाली नागरिक होइन ? के उनीहरुको चाहिँ बालबच्चा, परिवार छैन ? के उनीहरुलाई चाहिँ दुख्दैन् ? यस्तै प्रश्नहरु उब्जेको छ ।
उक्तदिन तिनकुने क्षेत्रका प्रहरी कमाण्डर थिए, प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहरा । तर, सुरुमा आन्दोलन त्यसरी हिंसात्मक बन्छ भनेर उनै प्रहरी कमाण्डर बोहरालाई कहिँकतैबाट सूचना पुगेको थिएन । उल्टो उनले त्यहाँको वस्तुस्थितिबारे बुझेर माथिल्लो निकायमा रिपोर्टिङ गरे ।
अनि, प्रसाईं आए, त्यहाँको माहौल बिग्रिएको हो ।
