काठमाडौं । २०६२/६३ सालपछि नेपाल प्रहरीमा ठूलो परिवर्तन भएको छ, केही सकारात्मक अनि केही नकारात्मक ।
भ्रष्टाचारको सन्दर्भमा प्रहरीमा व्यापक सुधार देखिएको छ, विगतमा प्रहरीकै मिलेमतोमा खुलेआम ठूला तस्करीसमेत हुने गरेको र ठूला अपराधीले उन्मुक्ति पाउने गरेको थियो । तर अहिले त्यस्तो धन्दा केही हदसम्म कम भएको छ । यो सकारात्मक पक्ष हो ।
नेपाल प्रहरीमा सुधारसँगै विकृति पनि बढ्दो नै छ । खासगरी प्रहरीको सरुवा-बढुवामा अत्याधिक राजनीति हुन थालेको छ । जसले गर्दा संगठन कमजोर हुँदै गएको छ । ‘चेन अफ कमाण्ड’मा चल्नुपर्ने प्रहरी संगठन राजनीतिक शक्तिको आडमा चल्न खोज्दा प्रहरीको बदनाम भएको छ ।
२०६२/६३ पछिका प्रहरी महानिरीक्षकहरु सबैले केही न केही प्रहरीमा परिवर्तन गरेका छन् । अनौठो के छ भने जोबाट धेरै सुधारको अपेक्षा गरिएको थियो, उनीहरुबाटै प्रहरीहरु निराश बने । जसबाट संगठनले धेरै अपेक्षा गरेको थिएन, उनीहरुले सफल भएर संगठनबाट बिदा भए ।
बसन्त बहादुर कुँवरले अवकाश पाएपछि दिपक थापा ३१औं महानिरीक्षकका रुपमा नियुक्त भएका छन् । छोटो अवधि भएकाले उनीसँग धेरै अपेक्षा गरिएको छैन ।
तर, पाँच महिना १४ दिनको छोटो अवधिमा चाहेभन्दा उनी सर्वाधिक सफल प्रहरी महानिरीक्षक पनि बन्न सक्ने अवस्था छ । तर, त्यो त्यति सजिलो भने छैन । यसका लागि उनले विगतका महानिरीक्षक भन्दा धेरै फरक शैलीले काम गर्नुपर्ने हुन्छ ।
प्रहरीमा महानिरीक्षकको मुख्य चुनौती राजनीतिक हस्तक्षेप हो । त्यसबाट प्रहरी संगठनलाई बचाउन सके भने ५ महिना १४ दिनमा थापाले अरुले ५ वर्षमा गर्न नसकेको सफलता हात पार्नेछन् ।
सबैभन्दा महत्वपूर्ण कुरा यसपटक महानिरीक्षक नियुक्तीमा ब्याचीहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएन । महानिरीक्षक बढुवामा उनले चलखेल गर्नुपरेन । जुनकुरा महानिरीक्षक थापाले दरज्यानी सुशोभन कार्यक्रममै भने । उनले धेरै नेताकोमा पनि धाउनु परेन ।
त्यसकारण निर्णयहरुमा उनले धेरै राजनीतिक दबाब झेल्नुपर्ने बाध्यता छैन । यसकारण पनि उनले काम देखाउने र संगठनलाई बलियो बनाउने वातावरण छ । नेपाल प्रहरीमा काविल अफिसरको छवि बनाएका थापालाई चैत ४ गते सरकारले संगठनको सर्वोच्च पद महानिरीक्षक नियुक्त गरेको थियो ।
सरुवा–बढुवा, पहिलो चुनौती
ओपन सेक्रेट कुरा के हो भने, नेपाल प्रहरीभित्र राजनीतिक हस्तक्षेप हिजोभन्दा आज बढ्दै गएको छ । त्यस्तोमा थापाले संगठनलाई राजनीतिक नेतृत्वसँगको समन्वय र सहकार्यलाई रणनीतिक रुपमा कसरी अगाडि बढाउन सक्छन् अथवा सक्दैनन्, त्यो उनको कार्यकुशलतामा निर्भर रहन्छ ।

विगतमा राजनीतिक नेतृत्व र प्रहरी संगठनको बीचमा सुमधुर सम्बन्ध बन्ने एउटा मात्रै अवस्था देखिन्थ्यो । त्यो के भने, दुवैको स्वार्थ मिलेको अवस्थामा सुमधुर सम्बन्ध हुन्थ्यो, अन्यथा आईजीपी र गृहमन्त्रीबीच बोलचाल हुनेदेखि फाइल फालाफालको अवस्थामा समेत आउने गरेको थियो ।
नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपको आरम्भ कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए । आफ्नो ‘यसमेन’लाई आईजीपी बनाउन देउवाले ३० वर्षे सेवाअवधि लगाएर रत्नशमशेर जबरालाई हटाए । अनि मोतिलाल बोहरालाई आईजीपीको फली लगाइदिए ।
यसरी प्रहरीमा चोर बाटो हुँदै छिरेको राजनीतिले संगठनभित्र सुरु भएको राजनीतिक भय थापा आईजीपी हुने दिनसम्म पनि कायम थियो र छ ।
देउवापछि कांग्रेस नेता खुमबहादुर खड्का, तत्कालिन एमाले नेता बामदेव गौतम र रास्वपाका निलम्बित सभापति रवि लामिछानेले प्रहरीमाथि राजनीतिक हस्तक्षेपलाई निरन्तरता दिएका थिए ।
अच्युतकृष्ण खरेललाई आईजीपी बनाउन खुमबहादुर खड्काले भूमिका निर्वाह गरेका थिए । अदालतमा विचाराधिन मुद्दा हुँदाहुँदै खरेललाई नियुक्त गरेर ध्रुवबहादुर प्रधानलाई बर्खास्त गरेका थिए । त्यतिबेला खुमबहादुरले आफ्नो स्वार्थअनुसार खरेललाई प्रयोग गर्न खोजेका थिए । बामदेव गौतम र खरेलको स्वार्थ नमिलेपछि गौतमले खरेललाई ३६ दिनमै बर्खास्त गरे ।
पछिल्लो समय रास्वपाका निलम्बित सभापति लामिछानेले समेत प्रहरी संगठनभित्र राजनीति घुसाए । जसको ज्वलन्त उदाहरण हो, सिनियरलाई पाखा लगाएर जुनियरलाई डिआईजी बनाएको । गृहमन्त्री हुँदा उनले आफ्नो स्वार्थअनुसार प्रयोग गर्न २०५३ को टोलीलाई छाडेर २०५४ को टोलीलाई डिआईजीमा बढुवा गरेर रमिता देखाएका थिए ।
त्यसैगरी लामिछानेले गृहमन्त्रीकालमा दुई महिनाअवधि नपुग्दै जिल्ला प्रहरी प्रमुखहरुको सरुवा गरेर झनै रमिता देखाएको उदाहरण छ । विनाकारण उनले आफ्नो पिए दिपक बोहराको लहलहैमा लागेर ५,६ वटा जिल्लाका प्रहरी प्रमुखहरुलाई समयाअवधि नपुग्दै तानेर आफूनिकटलाई पठाएका थिए ।
त्यसैले राजनीतिक हस्तक्षेपलाई चिर्नसक्नु अहिलेका प्रहरी प्रमुख थापाको मुख्य चुनौती हो । त्यसका लागि उनको कार्यकुशलता र समन्वयमा धेरै कुरा निर्भर रहन्छन् । य’स मानेमा अहिलेका प्रहरी प्रमुख भाग्यमानी छन्,’ एक प्रहरी अधिकृत भन्छन्, ‘वर्तमान सरकारले चिफसापको क्षमता देखेर नै उनलाई दुरुपयोग गराउन चाहँदैन भन्ने बुझिएको छ ।’
जुनियरको वृत्ति विकास
यस्तै प्रहरी महानिरीक्षक थापाका लागि संगठन सुदृढीकरणअन्तर्गत प्रहरीको संरचना, शैली र विद्यमान प्रशासनिक आन्तरिक संरचनामा आमूल परिवर्तन गर्नुपर्ने चुनौती छ । अहिलेको संरचनाअनुसार तल्लो तहका जुनियर अफिसर र जवानको वृत्ति विकासलाई मुख्य केन्द्रमा राखेर काम गर्नुपर्ने देखिन्छ ।
पछिल्लो विवरणअनुसार प्रहरीका जुनियर अफिसर र जवानहरु हरेक वर्ष ५ हजारको संख्यामा जागिर छाडेर विदेशिने गरेका छन् । पेन्सन हुनासाथ यसरी बाहिरिने जुनियर अफिसर र जवानलाई संगठनमै भविष्य देखाएर रोक्नसक्नु थापाको अर्को चुनौती हो ।

राज्यले एकजना सिपाहीका लागि वार्षिक ५ लाख खर्च गर्ने गरेको छ । १६ वर्षभन्दा बढी पुलिसिगं गरेर परिपक्व भएपछि संगठनले काम लिने बेलामा यसरी जुनियर कर्मचारी बाहिरिँदा संगठनलाई नै घाटा हुने गरेको छ । त्यस्तोमा सिपाही भर्ना भएको एउटा युवा ३० वर्षमा डिएसपीको बर्दी खोलेर अवकाशमा जाने प्रणालीको विकास गर्न सकेमा प्रहरी संगठनप्रतिको चार्म अझै बढेर जानेछ ।
अहिले प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना भएकाहरु आन्तरिक बढुवाबाट नै एसपी, एसएसपीमा अवकाश पाउने सिस्टम विकास गर्नुपर्ने देखिन्छ । असईतर्फ खुलाबाट ३० प्रतिशत भर्ना गरेर आन्तरिकतर्फ ७० प्रतिशतको पदोन्नती गर्न सकेमा सिपाही, हवल्दारहरुले चाँडो प्रमोशनको अवसर पाउँछन्, जसबाट संगठनको गति बढ्छ ।
स्मार्ट हेडक्वार्टर
प्रहरी महानिरीक्षक थापाले संगठनभित्र हल गर्नुपर्ने मुद्दा धेरै छन् । संगठनको माथिल्लो तहको संरचना निकै भद्दा छ । चुस्त दुरुस्त संगठन निर्माण गर्दै स्मार्ट प्रहरी प्रधान कार्यालय निर्माण गर्नु उनको अर्को चुनौती हो ।
विगतमा प्रहरी हेडक्वार्टर कहिल्यै पनि शुद्ध हेडक्वार्टर बन्न सकेको छैन । भ्रष्टाचारको गन्ध आउँथ्यो । त्यसैले प्रहरी महानिरीक्षक थापाले हेडक्वार्टरलाई ठेक्कापट्टा गर्ने ठाउँ होइन, नीति नियम बनाउने र सर्वोक्षण गर्ने निकायको रुपमा विकास गर्न सकेमा काविल छवि अझै उचो हुने देखिन्छ ।
नेताको दैलो चहार्नेलाई निरुत्साहित
प्रहरी नेतृत्वले संगठनको सम्पूर्ण स्वामित्व लिन सक्नुपर्छ । जहाँ स्वामित्व हुन्छ, त्यहाँ उत्तरदायित्व लिने प्रवृति सबैतिर हुन्छ । प्रहरीका अफिसरहरुमा कस्तो मानसिकताको विकास भएको देखिन्छ भने, राजनीतिक नेतृत्वले नभन्दासम्म राम्रो ठाउँमा सरुवा र राम्रो नम्बरमा बढुवा हुँदैन् ।
थापाले संगठनभित्र क्यान्सजस्तै फैलिएको उक्त मानसिकतालाई चिर्न सक्नुपर्छ । त्यसका लागि उनले भन्न सक्नुपर्छ, तिमी जोसुकै नेताकोमा गएपनि तिम्रो पदोन्नती हुन सक्दैन किनभने विशेष चुनौती बापतको अकं मेरो हातमा छ, मैले पदोन्नती नगरेसम्म नेताकोमा गएर हुँदैन ।
विगतका प्रहरी प्रमुखहरुमा देखिएको समस्या के थियो भने, उनीहरु सानो घेरामा रमाउँथे । इन्स्पेक्टर हुँदादेखि आफूसँग काम गरेकाहरुलाई मात्र विश्वास गर्ने, आफ्नो टिमलाई मात्र विश्वास गर्ने प्रवृत्ति बसन्त कुँवरसम्म आइपुग्दा कायमै थियो । त्यसैले विगतका नेतृत्वभन्दा फरक प्रमाणित गर्नका लागि थापाले उदार भएर सोच्नुपर्छ ।
संगठनभित्रको स्वार्थकेन्द्रीत गुटबन्दी छाडेर हाम्रालाई भन्दा राम्रालाई स्यावास भन्दै थापाले उदारता देखाउन सक्नुपर्छ । संगठन सुदृढीकरणबाहेक प्रहरी सेवामा चुस्तता ल्याउनु पनि थापाको अर्को चुनौती हा ।
