काठमाडौं । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको कुलसचिव रजिस्ट्रारमा प्राध्यापक माधव अधिकारी नियुक्त भएका छन् ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई कुलसचिव नियुक्त गरेका हुन् ।
अधिकारी नेकपा एमालेका महासचिव शंकर पोखरेलका आफ्नै भान्जा हुन् । उनी कार्यविधि नै संशोधन गरेर उपकुलपति हुने दौडमा थिए । कांग्रेस र एमालेको भागबण्डामा शंकरले कांग्रेसलाई उपकुलपति दिएर भान्जालाई रजिस्ट्रार बनाएका हुन् ।
अधिकारीको कुलसचिवको जिम्मेवारीको अघिल्लो कार्यकाल गत कात्तिक १३ सकिएको थियो । गत असार १४ गते तत्कालीन उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले विश्वविद्यालयको गरिमामा आँच आउने काम गरेको भन्दै अधिकारीलाई दुई पटक स्पष्टीकरण सोधेका थिए ।
तर, अधिकारीलाई स्पष्टीकरण सोध्ने लामिछाने पदबाट राजीनामा दिए । तत्कालीन उपकुलपति लामिछाने भने अहिले अमेरिका भाँसिएको अवस्था छ ।
