काठमाडौं । बाराको विभिन्न नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाहेक राष्ट्रिय अनुसन्धान विभागको टोलीको नाममा समेत व्यापारीहरुसँग रकम असुली मौलाएको छ ।
राष्ट्रिय अनुसन्धान विभागको कार्यरत रहेका सूचक जितेन्द्र यादवले बारा जिल्लाको विभिन्न नाकाहरुमा आर्थिक आतंक नै मच्चाएका छन् ।
गोप्य सूचना संकलनको लागि खटिएको यादवले सूचना कम र व्यापारीहरुलाई डर त्रास देखाई डिआईजीदेखि एसपीसम्मको नाममा रकम असुल्ने गरेका छन् ।
यसैक्रममा बारामा सूचक प्रयोग गरी एसपीले रकम उठाउने गरिएको छ । प्रमुख जिल्ला अधिकारी र डिआईजीको समेत नाममा सूचक प्रयोग गरी रकम उठाउने गरेको खुलासा भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी, डिआईजी र राष्ट्रिय अनुसन्धानका एसपीको नाममा व्यापारीहरुसँग दररेट तय गरी असुली हुँदै आएको छ ।
विगत ७ बर्षदेखि राष्ट्रिय अनुसन्धान विभाग, बारामा कार्यरत सूचक जितेन्द्र यादवले प्रजिअ र एसपीको नाममा व्यापारीसँग मासिक रकम उठाउने गरेको आरोप छ ।
राष्ट्रिय अनुसन्धान विभाग बाराका प्रमुख (एसपी) दीपक खड्का छन् भने प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी छन् । यादवले विगत ७ बर्षदेखि सिडीओ, डिआईजी र एसपीका नाममा व्यापारीसँग रकम लिने गरेका छन् ।
सूचक यादवले कतिपय व्यापारीलाई प्रहरी र सशस्त्रको क्राइमको असई समेत भन्दै तर्साउँदै असुल्न गरेको आरोप लाग्ने गरेको छ । केही महिनाअघि छतवाको बरैनिया बजारमा ब्यापारीहरुसँग पैसा माग्ने क्रममा उनलाई स्थानीयले कुटपिट नै गरेका थिए ।
तर पनि उनलाई राष्ट्रिय अनुसन्धानका एसपी खड्काले उनलाई असुलीमा खटाउँदै आएका छन् । बाराका सिम्रौनगढ, छतवा, मटिअर्वा, मुसहरवा नाकामा सूचक यादव आफै बसि प्रत्येक व्यापारीसँग ५ हजार देखि २० हजार रुपैयाँसम्म असुल्दै आएको नाम नछाप्रने सर्तमा एक व्यापारीले बताएका छन् ।
स्रोतका अनुसार सूचक यादवले खुलेआम असुली गर्ने गरेको गुनासो पटक–पटक राष्ट्रिय अनुसन्धान विभागको मधेश प्रदेशका अनुसन्धान निर्देशक डीआईजी माधव तिम्सिनाकोमा पुगे पनि सुनुवाइ हुन सकेको छैन ।
राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत हुँदा गुनासो गर्दा सुुनुवाइ भए पनि प्रधानमन्त्री कार्यालयमातहत लगिएपछि झन् मनपरी हुँदै गएको गुनासो छ ।
