काठमाडौं । विद्यमान प्रहरी नियमावलीअनुसार आगामी ५ चैतबाट नेपाल प्रहरीका ९ जना अधिकृतहरु ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना नायब महानिरीक्षक (डिआईजी) अवकाशमा जान लागेका हुन् ।
उनीहरु सबै २०५१ चैत ५ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
यही ब्याचका अधिकांश उमेर हदका कारण यसअघि नै अवकाशमा गएपनि नौजना भने १५ दिनपछि सेवा अवधिका कारयण अवकाश हुन लागेका हुन् । उनीहरूलाई प्रहरी किताब खानाले अवकाशको पत्र समेत बुझाइसकेको छ ।
अवकाश पाउने एआईजीहरु टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनकराज भट्टराई रहेका छन् । एआइजी बढुवा सिफारिस भएका भट्टराई हाल कर्णाली प्रदेशको प्रमुख छन् ।
बढुवा भएपछि उनी प्रदेश समन्वय विभागमा छोटो समयका लागि रहनेछन् । भट्टराईले एआईजीमा बढुवा भएर दज्र्यानी चिन्ह लगाउन बाँकी भए पनि अवकाशको पत्र भने बुझिसकेका छन् ।
यस्तै डिआईजीहरु गणेश चन्द, धुव्रराज राउत र भोलाबहादुर रावलले समेत अवकाश पाउँदैछन् । जसमध्ये रावल गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीमा, चन्द सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सुर्खेत र रावत उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।
यसअघि उमेरहदका कारण कुँवरकै ब्याचमेट एआईजीहरु सन्दीप भण्डारी, मिरा चौधरी, श्यामलाल ज्ञवाली, केदार ढकाल, किरण बज्राचार्य र डिआईजीहरु पोषराज पोखरेल, राजेश बास्तोला, विष्णु कुमार केसीलगायतले अवकाश पाइसकेका छन् ।
