काठमाडौं । बलात्कार आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहान, सिराहको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव पक्राउ परेका हुन् ।
उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र पासवानले जानकारी दिए ।
‘एक महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी पासवानले भने, ‘विवाह गर्ने शर्तमा यौन सम्बन्ध राखेको र विवाह नगरेकाले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ ।’
उनलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । प्रहरी जवान यादव विवाहित महिलासँग प्रेममा थिए।
उनले ती महिलालाई ‘डिभोर्स’ गर्न लगाएर पछि विवाह गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ । ती महिलालाई प्रहरी जवान यादवले लहानमा कोठा भाडामा लिएर राख्दै आएका थिए ।
अहिले उनलाई कोठाबाट समेत निकालिएको स्रोतले जनाएको छ । त्यसपछि महिलाले जबरजस्ती करणीको उजुरी दिएकी हुन् ।
