काठमाडौं । गत फागुन ८ गते रूपन्देहीको सियारीस्थित बेथरी सडकखण्डको किनार नजिकै खेतमा छोपिएको अवस्थामा दाङको लमही नगरपालिका,७ की संगिता चौधरीको शव फेला पर्यो ।
उनको टाउको र अनुहारमा ढुंगा प्रहार गरी नचिनिने गरि हत्या गरी सडक किनारमा परालको थुप्रोले ढाकेको अवस्थामा शव भेटिएको थियो ।
तर, हत्या आरोपमा रूपन्देही प्रहरीले ९ दिनपछि एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका-१२ का अजय भनिने ४२ वर्षीय अमिरिका थारू रहेका छन् ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपीक्षक (डिएसपी) सुरज कार्कीको कमाण्डमा गठित अनुसन्धान टोलीले अनुसन्धान सुरु गरेको थियो । ९ दिनपछि रुपन्देही प्रहरीले आरोपी पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले शव फेला परेपछि तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरेको थियो सोही क्रममा थारूलाई गत १६ गते पक्राउ गरेको डिएसपी कार्कीले बताए ।
मृतक र आरोपी दुवैजना बुटवल उपमहानगरपालिका(११ कालिकापथमा साथीहरूसँग बसेर ज्याला मजदुरी गर्थे । घटना भएको दिन दुवैजनाले मादक पदार्थ सेवन गरेको र अमिरिकाले संगितालाई यौन प्रस्ताव राखेका थिए ।
अनुसन्धानमा यौन प्रस्ताव अस्वीकार गर्दा ढुंगाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका दुई थान ढुंगा, मृतकले प्रयोग गर्ने मोवाईल, कालो टोपी, चप्पल लगायत बरामद गरेको थियो ।
त्यस्तै, पक्राउ परेका अमिरिकाको साथबाट वारदातको समयमा लगाएको कालो जिन्स पाइन्ट र मृतकले प्रयोग गरेको साइकल बरामद गरेको छ । पक्राउ परेका थारुलाई जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
