काठमाडौं । टोखामा गोली प्रहार गरेर प्रहरीले पक्राउ गरेको गुड्डु पटेल भारतीय नागरिक भएको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गर्न ४ राउण्ड गोली चलाएको हो ।
आरोपीलाई खुट्टामा गोली लागेको बताइएको छ । हाल घाइते पटेलको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।
२०७९ असोज ३ मा काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । उनको हत्यामा गुड्डु मुख्य सुटरको भूमिकामा रहेको अनुसन्धानबाट खुलेको थियो ।
उनलाई पक्राउ गर्न प्रहरीले सुरुमा दुई राउण्ड हवाई फायर र भाग्न थालेपछि थप दुई राउण्ड गोली प्रहार गरेको बताइएको छ । २०८१ वैशाख १७ मा पर्साको वीरगन्जबाट मोहम्मदको हत्या गर्ने योजनाकार मध्येका बब्लु पासवानलाई पर्सा प्रहरीले पक्राउ गरेको थियो ।
