काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरले लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताएका छन् । शनिवारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सामूहिक दायित्वको विषयलाई सबै मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले लागुऔषध नियन्त्रणका लागि व्यक्ति, समाज, विभिन्न पेसाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य रहेको बताए ।
समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रूपमा रहेको लागुऔषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौँ उपत्यकाभित्र यो महाअभियानको शुभारम्भ गरिएको बताए ।
उनले लागुऔषध कारोबार तथा दुर्व्यसनीका घटना नियन्त्रण र निरूपणका लागि नेपाल प्रहरीले चाल्नुपर्ने कदममा खरो ढंगबाट प्रस्तुत हुन निर्देशन दिए ।
उनले भने ‘लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव हुँदैन । यो सामूहिक दायित्वको विषय हो । यसको लागि प्रो एक्टिभनेस पनि महत्त्वपूर्ण रहेको छ । यसमा व्यक्ति, समाज, विभिन्न पेसाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य छ ।
यसै तथ्यलाई आत्मसाथ गर्दै समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रूपमा रहेको लागुऔषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौँ उपत्यकाभित्र यो महाअभियानको शुभारम्भ गर्न लागिएको हो ।’
विश्वमा करिब ३० करोड र एसियामा मात्रै करिब ६ करोडको हाराहारीमा लागुऔषध सेवन कर्ताहरू रहेको बताए । जसमध्ये गाँजा र सोबाट निर्मित लागुऔषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत रहेको बताए । लागुऔषध सम्बन्धी देशभर दर्ता भएका मुद्दाहरू प्रत्येक आर्थिक वर्षमा करिब ७ प्रतिशतको हाराहारीमा बढ्दो अवस्थामा रहेको बताए ।
