काठमाडौं । प्रहरी वृत्त स्वयम्भुले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने फरार ८ जनालाई पक्राउ गरेको छ।
वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौं महानगरपालिका- १५ हलचोक एरियामा पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका सन बहादुर तामाङ, प्रकाश लामा, कसाङ तामाङ, धादिङका बिदुर कमल, बिबेक ढुंगाना, सिन्धुपाल्चोकका विकास तामाङ, सिन्धुलीका शख बहादुर योन्जन र रौतहटका आकाश तामाङलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले विगत पाँच महिनादेखि सार्वजनिक सवारीसाधनमा चढेर पाकेटमार तथा गरगहना लुटेर भाग्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिए।
उनले भने,’विगत लामो समयदेखि सार्वजनिक यातायातमा पाकेटमारी हुने गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएका हौँ’ ।’ पक्राउ परेकाहरु माथि अभद्र व्यवहार कसूर शिर्षकमा म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ।
