काठमाडौं । पर्साको वीरगञ्जमा दक्षिण भारतीय फिल्म ‘मार्को’ को नक्कल गरेर एक युवकको हत्या गरिएको छ। वीरगञ्ज महानगरपालिका–२८ जगरनाथपुर ढाटछेउमा ७ फागुनमा यो घटना भएको हो।
वीरगन्ज–२७ का १९ वर्षीय तीन युवाहरुले मिलेर उनीहरुकै १९ वर्षीय साथी (छिमेकीपनि) इशालप्रसाद कुर्मीको हत्या गरेका हुन्। कुर्मीको शव ११ फागुनको साँझ करिव साढे ५ बजे भेडैया खोलामा तैरिरहेको अवस्थामा फेला परेको थियो।
अनुसन्धानका क्रममा ७ फागुनको साँझ करिव सवा ६ बजे उनको हत्या भएको खुलेको छ। हत्या आरोपमा मृतकका छिमेकी तथा साथीहरु १९ वर्षका मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी पक्राउ परेका छन्।
प्रहरीका अनुसार ७ फागुनमा उनीहरु चारै जना मिलेर घटनास्थलमा तास खेलेका थिए। इशाल र मुकेश दुवैले तासमा पैसा हारे। त्यसपछि मुकेशले इशालसँग ३ हजार ५ सय रुपैयाँ सापट लिएका थिए।
तास खेलिसक्ने वित्तिकै इशालले पैसा मागेपछि आक्रोशित भएका मुकेशले मार्को फिल्मका खलनायकले कुटेको शैलीमा रुखमा पटक–पटक टाउको ठोक्काएर इशालको हत्या गरेको पाइएको छ।
पर्सा प्रहरीका एसपी गौतम मिश्रका अनुसार मुकेशले मार्को फिल्म हेरेको पनि खुलेको छ। टाउकोमा गम्भीर चोट लागेर अचेत भएका इशाललाई तीनै जना मिलेर उनकै सर्टले हात पछाडिबाट बाँधेर खोलामा फालेका थिए।
इशालको शवसँगै उनको पर्स, साइकल, चप्पल, मोबाइललगायतका सामानसमेत बरामद भएको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतमा पेस गरी थप अनुसन्धान भइरहेको एसपी मिश्रले बताए।
