काठमाडौं । सुरक्षा चुनौतीको हिसाबले काठमाडौं उपत्यकाभित्रका तीन जिल्लालाई निकै महत्वका साथ हेरिन्छ। र, उच्च प्राथमिकतामा पनि राखिन्छ। महत्व बढी हुनुको अर्थ हो, आफूलाई स्थापित गर्न यहीँको पोस्टिङको अपेक्षा हुनु।
आफूलाई अम्बल स्थापित गर्न प्रहरी अधिकृतहरु यहीँको दरबन्दीका लागि दौडधुपमा राम्रै भिडिरहेका हुन्छन्। जसमध्ये पनि काठमाडौं र ललितपुरको कमाण्ड संगठनमा अब्बल दुईजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काँधमा छ ।
गृह मन्त्रीस्तरीय निर्णय अनुसार गत माघ ११ गतेबाट लागू हुनेगरी १८ जना एसएसपी सरुवा गरिँदा विश्व अधिकारी काठमाडौंको कमाण्ड सम्हाल्ने जिम्मेवारीमा आइपुगे । उनले १६ गतेबाट जिल्ला प्रहरी परिसर काठमाडौंको इन्चार्ज बुझेका हुन् ।
त्यस्तै ललितपुर परिसरको कमाण्ड समेत अर्का अधिकारी श्यामकृष्णको हातमा छ । २२ पुसमा उनको ललितपुरमा काज सरुवा भएको थियो । यसरी अहिले उपत्यकाको महत्वपूर्ण दुई जिल्ला काठमाडौं र ललितपुर अधिकारीद्वयको कमाण्डमा छ ।
उनीहरुको आगमनसँगै काठमाडौं र ललितपुरवासीले सुरक्षाको अनुभूति गर्न पाएका छन् । मिडियामा आउन त्यति दिलचस्पी नदिने तर जनताको सुख–दुःखसँग प्रत्यक्ष सरोकार राख्ने उनीहरु कहिल्यै पनि नाम र दामलाई केन्द्र विन्दुमा राखेर काम गर्ने अधिकृतका रुपमा चिनिएनन् ।
विरालो मार्दा पनि बाघ मारेको हल्ला पिटाउने अधिकृतका अगाडि यि दुई अधिकृत आमजनताको नजरमा बहादुर सिपाहीका रुपमा मुल्यांकित भएका अधिकृत हुन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अधिकारी जहाँ बस्छन्, त्यहाँ केही न केही नयाँ काम गरेर देखाउने शैलीका उनी संगठनमा खरो अधिकृतका रुपमा चिनिन्छन् । उनले आफ्नो कार्यकालमा थुप्रै ठाँउको कमाण्ड सम्हालेको अनुभव छ ।
शान्ति सुरक्षा र अपराध रोकथाम आफ्नो पहिलो प्राथमिकता भएको उनी बताउँछन् । ‘जिम्मेवारीको हिसाबले काठमाडौं एउटा चुनौतीपूर्ण जिल्ला पनि हो र क्षमता प्रदर्शन गर्ने अवसर पनि हो’, एसएसपी अधिकारी भन्छन्,‘हामी ४ हजार जनशक्ति छौं, यसको उचित परिचालन गरेर काम गर्छौं ।
एसएसपी विश्व अधिकारीले काठमाडौं परिसरमा विचौलिया प्रवेश निषेध रहेको जानकारी दिँदै भने,‘यहाँ दैनिक सयौं सर्वसाधारण गुनासा लिएर आउँछन्, तीमध्ये केही विचौलियाको रूपमा पनि आएको पाएको छु, उनीहरूलाई यहाँ प्रवेश गर्न रोक लगाउँछौं ।’
त्यस्तै ललितपुर प्रहरी प्रमुख अधिकारीले प्रहरीको सेवा प्रवाह, प्रहरीका कामकारबाही, अपराध अनुसन्धान, मानव अधिकारको रक्षा गर्दै प्रहरीलाई प्रविधिमैत्री बनाउने काममा आफ्नो प्राथमिकता रहने बताए । उनले समुदाय प्रहरी– साझेदारी कार्यक्रमलाई परिष्कृत गर्दै प्रहरी र नागरिकको सम्बन्धमा जोड दिने बताए ।
‘नागरिकलाई प्रहरी मेरो साथी नारा मात्रै नभएर व्यवहारमै लागू गर्ने गरि प्रहरी परिचालन गर्छौं’, एसएसपी अधिकारीले भने, ‘ललितपुर परिसरमा सेवा लिन आउने सर्वसाधारणको रेकर्ड राखी उनीहरूको गुनासो सम्बोधन भए/नभएको समेत अडिट राख्ने गर्छौं ।’
स्कुपखबरसँगको कुराकानीमा उनले सर्वसाधारणको गुनासो र उनीहरूको पीरमर्कालाई ध्यानमा राखेर काम गर्ने बताए । एसएसपी अधिकारीले ललितपुर हाँकिरहँदा थुप्रै कामहरु समेत भएको छ । आपराधिक क्रियाकलाप गुण्डागर्दी शुन्यमै झरेको छ भने चोरी, लुटपाट, हत्या, ठगी कम भएको बताइन्छ ।
जनताले तिरेको करबाट आफूले रासन र आसन पाएको बताउने उल्लेखित दुई प्रहरी अधिकृतबाट उपत्यकावासीले धेरै आशा गरेकाले पक्कै आफ्नो पुरानो चरित्रलाई यी दुई अधिकृतले लागू गर्नेछन् भन्ने कुरा निश्चितप्रायः ठानिएको छ ।
