काठमाडौं । दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी पछिल्लो समय आफैं असुरक्षित महसुस गर्न थालेको छ । गत बिहीबार राती ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट भयो ।
दरबारमार्ग वृत्तमा कार्यरत क्वीक रेस्पोन्स टीम (क्यूआरटी)मा खटिएका प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि रक्सी खाएर सडकमा होहल्ला गर्दै हिडेका नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरुले कुटपिट गरेका हुन् ।
त्यस्तै गत मंगलबार राति पनि कैलालीको धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहारको प्रयास भयो । धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा मापसे गरेर सडकमा हल्ला गर्दै हिँडेका युवालाई सम्झाउन खोज्दा उल्टै प्रहरीलाई लखेटेर चक्कु हान्ने प्रयास भएको भिडिओमा देख्न सकिन्छ ।
त्यसैगरी तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोटमा गत शनिबार एक प्रहरी जवानलाई निर्घात कुटपिट गरियो । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी जवान सुनिल कार्कीमाथि कुटपिट भएको थियो । होहल्ला गरेर हिँडेकाहरूलाई सम्झाउन खोज्दा उल्टै कार्कीलाई हातपात भएको थियो ।
यसरी जनताको सुरक्षामा खटिने बर्दीधारी प्रहरीमाथि खुलेआम तबरले आक्रमण हुन थालेपछि असुरक्षित महसुस गरेका हुन् । तर, समाजको पहरेदारी गर्ने प्रहरीमाथि नै निरन्तर आक्रमण हुँदा गृह प्रशासन र प्रहरी संगठनमाथि आलोचना हुन थालेको छ ।
प्रहरी मुख्यालयबाट उपलब्ध विवरण हेर्दा बर्सेनि प्रहरीमाथि कुटपिट तथा हातपातका घटना भइरहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो आर्थिक वर्षको पुससम्ममा मात्रै प्रहरीमाथि ७२ वटा कुटपिट एवं हातपातका घटना भएका छन् ।
जसमा प्रहरी जवानदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्मले कुटाइ खाएका छन् । यो आर्थिक वर्षमा धनुषा, सुनसरी, ताप्लेजुङ, खोटाङ, संखुवासभा, उदयपुर, पाँचथर, रौतहट, सर्लाही, मकवानपुर, चितवन, धादिङ, सिन्धुली, तनहुँ, गुल्मी, बर्दिया, दाङ, पूर्वी नवलपरासी, अर्घाखाँची, पाल्पा, रोल्पा, कपिलवस्तु, डडेल्धुरा, बाजुरा, काठमाडौं, ललितपुर र भक्तपुर गरी २७ वटा जिल्लामा प्रहरीमाथि कुटपिटका घटना भएका हुन् ।
ठमेलको घटनामा चर्को आलोचना हुन थालेपछि बुधबार गृहमन्त्री रमेष लेखकले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकृतलाई मन्त्रालयमा डाकेर कुटपिटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
