काठमाडौं । कैलालीको धनगढीस्थित ट्राफिक चौराहामा ड्युटीमा रहेका प्रहरीलाई चक्कु बाकेर खेदेको आरोपमा एक जना पक्राउ परेका छन्।
प्रहरीमाथि चक्कु प्रहार गर्ने उदेश्यले लखेको आरोपमा धनगढी उपमहानगरपालिका–१४ का ३६ वर्षीय टेकबहादुर टमाटा पक्राउ परेका हुन। उनले मंगलबार राति सवा ८ बजे हातमा चक्कु लिएर एक प्रहरीलाई खेदेका थिए।
‘हरहर महादेव’ भन्दै सडकमा होहल्ला गर्दै हिडिरहेका उनलाई प्रहरीले पक्राउ गर्न खोजेको थियो। त्यस क्रममा एकजना प्रहरीले ती युवकलाई पछाडिबाट लाठी प्रहार गरेका थिए। त्यसपछि युवकले चक्कु निकाले ती प्रहरीलाई खेदेको स्थानीयले वताए।
लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ। ती युवकको मानसिक सन्तुलन बिग्रिएको सूचना आएको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी पदमबहादुर विष्टले बताए। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।
