काठमाडौं । प्रहरीका उच्च अधिकारीहरुको नाम र दर्जा दुरुपयोग गरेर चेतावनीयुक्त इमेल पठाउने गरिएको तथ्य खुलेको छ। प्रहरीका उच्च अधिकारीहरुको नाम तथा दर्जासहित विशिष्टीकृत कार्यालयको नाममा विभिन्न व्यक्तिलाई चेतावनीयुक्त इमेल पठाएको पाइएको हो ।
प्रहरीको साइबर ब्युरोले त्यस्ता इमेलहरुको प्रतिक्रिया नदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । साइबर ब्युरोलगायत प्रहरीका अन्य कार्यालयबाट पठाइएका भनिएका त्यस्ता इमेलहरु होक्स (झुटा) भएकाले विश्वास नगर्न र कुनै जवाफ नलेख्न भनिएको छ ।
ब्युरोको जारी विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल प्रहरी साइबर ब्युरोलगायत अन्य प्रहरी कार्यालयहरुबाट पठाइएका भनिएका यस्ता इमेलहरु होक्स भएकाले यस प्रकृतिका मेलहरुको विश्वास नगर्न हुन साथै कुनै जवाफ नदिनुहोला ।’
त्यस्ता इमेलका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिँदै ब्युरोले कुनै द्विविधा भएमा ब्युरोको आधिकारिक वेबसाइटमा रहेका सम्पर्क र इमेलमार्फत थप बुझ्न आग्रह गरेको छ ।
