काठमाडौं । आफ्नी श्रीमतीसँग अनैतिक सम्वन्ध रहेको आशंकामा छिमेकीको हत्या गर्ने पुरुष पक्राउ परेका छन् । दोलखाको जिरी नगरपालिका–२ पटासेका धनबहादुर तामाङले चिर्पटले हानेर छिमेकी ६१ वर्षीय होमबबहादुर तामाङको हत्या गरेका हुन् ।
२६ पुसमा उनको हत्या भएको थियो । घटनाको दुई दिनपछि मात्रै घरमा उनको शव फेला परेको थियो । दोलखा प्रहरीका अनुसार २६ पुसमा भैँसी हराएको भन्दै होमबहादुर, छिमेकी धनबहादुर तामाङ, उनकी श्रीमती गंगामाया तामाङ र शान्ता जिरेल खोज्न निस्किएका थिए ।
भैँसी खोजेर फर्केपछि होमबहादुरको उनकै घरमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भैँसी खोजेर घर फर्केका ४ जना मध्ये मृतक होमबहादुर र गंगामायाबीचको सम्बन्ध खुलेपछि गंगामायाका श्रीमानले चिर्पटले हानेर हत्या गरेको अनुसन्धानका क्रममा फेला परेको इन्स्पेक्टर शत्रुधन महतोले बताए ।
सँगै भैँसी खोज्न हिँडेकी श्रीमती घर नफर्केपछि धनबहादुर र शान्ता होमबहादुरको घरमा पुगेका थिए । होमबबहादुर र गंगामाया सँगै फेला परेपछि धनबहादुर तामाङले चिर्पटले हानेर हत्या गरेको हत्यामा संलग्नहरूले बयान दिएका छन् । तामाङको हत्यापछि प्रमाण नष्ट गरेर गंगालाई सँगै लिई धनबहादुर र शान्ता घर फर्केका थिए ।
त्यसको २ दिनपछि कुकुरको छाउरो लिन पुगेका छिमेकीले होमबबहादुरको मृत्यु भएको थाहा पाएका थिए । त्यसपछि हाई ब्लडप्रेसका कारण मृत्यु भएको भन्दै होमबहादुरको शव जलाउने तयारी गरिएको थियो । तर, मृतकका जेठा छोराले हत्याको आशंकका गर्दै प्रहरीमा जाहेरी दिएपछि प्रहरीले शव नियन्त्रणमा लिएको छ ।
हत्यामा संलग्नहरूलाई जिल्ला अदालत दोलखाबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
