एजेन्सी । लुगा धुनका लागि वाशिङ मेसिनको प्रयोग त गर्नुभएकै होला । तर कुनैबेला मानिसलाई नै धुने वाशिङ मेसिन पनि आउला भन्ने कल्पना चाहिं गर्नुभएको थिएन सायद ।
तपाईंले सोच्दै नसोचेको यही मेसिन जापानले तयार गरेको छ । बाथरुमका सामान उत्पादन गर्ने जापानको एक कम्पनीले मानिस धुने वाशिङ मेसिन निर्माण गरेको छ ।
यो एउटा यस्तो भाँडो हो जसले केवल १५ मिनेटमै मानिसलाई धोएर सफा गराइदिन्छ । यो मानव वाशिङ मेसिन भविष्यको प्रविधिमा आधारित छ र अहिले केवल प्रोटोटाइप चरणमा मात्र रहेको छ ।
निकट भविष्यमा यसलाई व्यवसायिक रुपमा उत्पादन गरेर घर तथा आतिथ्य क्षेत्रहरुका लागि लञ्च गर्ने योजना कम्पनीको छ । जापानी सञ्चार माध्यम द असाही शिम्बुनका अनुसार यो मेसिन सन् १९७० को जापान वर्ल्ड एक्सपोजिसनमा प्रदर्शित एउटा मिल्दोजुल्दो मेसिनबाट प्रेरित भएर तयार गरिएको छ ।
त्यसबेला सान्यो इलेक्ट्रिक कम्पनी (जुन अहिले प्यानासोनिक कम्पनी बनेको छ) ले एउटा अण्डाकार अल्ट्रासोनिक बाथ सार्वजनिक गरेको थियो । यो मेसिनमा कुनै व्यक्ति बस्दा त्यो अटोमेटिक रुपमा तातो पानीले भरिन्थ्यो ।
त्यसमा अल्ट्रासोनिक तरंग तथा मसाजको सुविधा पनि थियो र पछि पानी आफै निस्किन्थ्यो । यद्यपि अल्ट्रासोनिक बाथ त्यो बेला लोकप्रिय बन्न सकेन ।
तथापि यसले एकजना बालकलाई भने निश्चित रुपमा प्रेरित गर्यो । ती बालकको नाम थियो यासुआकी ओयामा, जो अहिले साइन्स कम्पनीका अध्यक्ष हुन् ।
जापानको हस्पिटालिटी बजारका लागि बाथरुमका स्नानसम्बन्धी उपकरणहरु बनाउने साइन्स कम्पनीले बनाएको मानव वाशिङ मेसिनको नाम मिराइ निंगेन सेन्टाकुकी हो । आगामी अप्रिल महिनामा हुने प्रदर्शनीमा यो मेसिन पहिलोपटक सार्वजनिक गरिनेछ ।
यो मेसिनमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि तथा सेन्सर रहेको छ जसले मानिसको सरीरको अवस्था हेरिकन ठिक्कको तापक्रमको पानी छाड्दछ ।
साथै नुहाउने बेलामा सम्बन्धित व्यक्तिले पारदर्शी खोलमा विभिन्न खालका आनन्ददायक भिडियोहरु पनि हेर्दछ ।
