काठमाडौं । संघीय संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानको प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले प्रेमिकासँगको सम्बन्धमा खटपट आएको कारण आत्महत्या गरेको खुलेको छ ।
प्रेमिकासँग खटपट भएपछि उनले आफैंलाई गोली प्रहार गरेको खुलेको हो । गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए ।
अहिले उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
घटनास्थलमा ठड्याएको अवस्थामा गोलेको मोबाइल बरामद भएको छ । घटनास्थलमा भेटिएको मोबाइलबाटै गोलेले आफ्नी प्रेमिकाले वास्ता गर्न छाडेपछि आत्महत्या गरेको तथ्य प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
अविवाहित गोलेले इन्गेटमेन्ट (टिकाटालो) भने गरिसकेका थिए । करिब ५ महिनाअघि आफ्नी प्रेमिकासँग गोलेले इन्गेजमन्ट गरेका थिए । इन्गेजमेन्टपछि गोलेले खर्च गरेर आफ्नी प्रेमिकालाई दुबई पठाएका थिए । हाल उनकी प्रेमिका दुबईमा छिन् ।
तर दुबई पुगेपछि प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो । उक्त कुरा उनीहरुको मोबाइलमा भेटिएको म्यासेजबाट समेत पुष्टि भएको अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतले जानकारी दिए ।
प्रेमिकासँग विवाद जारी रहेकै बेला आज आत्महत्या गर्नुअघि समेत उनले ‘मर्छु’ भन्दै म्यासेज गरेको र त्यसपछि भिडिओ कल गरेको समेत देखिएको बताइएको छ । ‘भिडिओ कल र घटना पनि एकै समयमा भएको पाइएको जनाइएको छ ।
