काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरललाई हटाएर नयाँ प्रहरी महानिरीक्षक बनाउने खेलमा केही प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लागेको खबर सार्वजनिक भएको छ ।
तीसवर्षे सेवा अवधिका कारण आगामी चैत १० गतेदेखि सेवानिवृत्त हुन लागेका कुँवरलाई हटाएर आफू आईजी बन्ने खेलमा एआईजी श्यामलाल ज्ञवाली लागेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भए/नभएको कुरा लगाएर आफू आईजीपी बन्ने रणनीतिक योजना एआईजी ज्ञवालीले बनाएका थिए ।
एआईजी ज्ञवालीको यस्तो इच्छा पूरा गराउन केही व्यापारीहरु पनि निकै सक्रिय भएका थिए । जसको लागि ज्ञवालीले पछिल्लोसमय दरबारमार्गस्थित एक होटलमा नेकपा, कांग्रेस र माओवादीका उच्च नेताहरुसँग भेट गर्ने गरेको स्रोत बताउँछ ।
ती व्यापारीहरुले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीमाथि आईजीपी परिवर्तन गर्न निकै ठूलो दबाब पैदा गरेका थिए । यसअघि तत्कालिन एमालेका वामदेव गौतम र माओवादीका शक्ति बस्नेत गृहमन्त्री हुँदा उनीहरूले पनि आईजीपी बदल्ने योजना नबनाएका होइनन्, तर सकेनन् ।
वर्तमान गृहमन्त्री रवि लामिछाने पनि आईजीपी कुँवरसँग असन्तुष्ट रहेको बताइन्छ । आफूले चाहेबमोजिम नचलेकोले लामिछाने आईजीपीसँग असन्तुष्ट बनेका हुन् । तर, लामिछानेले आईजीपी परिवर्तन गर्ने तत्परता भने लिएका छैनन् ।
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई भेटेरै आईजीपीले आफूलाई असहयोग गरेको भनिएको कुरा हल्ला मात्र भएको गृहमन्त्रीको सचिवालयले बताएको छ । गृहमन्त्रीले आईजीपी कुँवरको विषयमा प्रधानमन्त्रीसँग केही पनि कुराहरु नगरेको स्रोतको दाबी छ ।
आईजीपी हटाउँदा आम जनमानसमा नराम्रो म्यासेज जाने भएपछि अहिले ओली प्रचण्ड पनि आईजीपी परिवर्तन गर्ने पक्षमा देखिएका छैनन् । प्रचण्डले कुँवरलाई आफ्नो कार्यकालभरि निर्धक्कसँग काम गर्न भनेका छन् भने ओलीले पनि आईजी परिवर्तन हुन नसक्ने जानकारी दबाब दिन आउनेहरूलाई गराइसकेका छन् ।
ओली र प्रचण्डको यस्तो ‘अडान’ सँगै आईजीपी परिवर्तनको खेलमा पूर्णविराम लागिसकेको छ । आईजीपी बदल्न नसकिने देखिएपछि एआईजी ज्ञवाली निराश बनेको बुझिएको छ ।
भुटानी शरणार्थी काण्डमा आईजीपीको गोप्य सुचना पनि ज्ञवालीले नै चुहाएको बताइन्छ । त्यसपछि ज्ञवाली र आईजीपीको चर्काचर्की समेत परेको थियो । पछिल्लो समय एआईजी ज्ञवालीको कार्यशैलीमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।
अहिलेकै अवस्थामा ज्ञवाली आगामी भदौमा घर जाँदैछन् ।
