काठमाडौं । समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत जनचेतनामूलक कार्यक्रम गर्दै आएको नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत पनि जनचेतनामूलक सन्देशहरु प्रवाह गर्दै आएको छ ।
सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत नेपाल प्रहरीले भिडिओको माभ्यमबाट सन्देशमूलक सामग्रीहरु प्रशारण गर्दै आइरहेको हो । जुन कामको अहिले चौतर्फी प्रशंसा समेत भएको छ ।
समाजमा हुनेखालको अवैध क्रियाकलाप रोक्नदेखि दुर्घटना न्यूनीकरण, जातिय भेदभाव तथा छुवाछुतको विषयमा शीर्षक दिएर प्रहरीले भिडिओ नै बनाएर सन्देशमुलक सामग्रीहरु प्रशारण गर्ने गरेको हो ।
भिडिओ सामग्री माध्यमबाट जनचेतना फैलाउन सहज हुने कन्सेप्ट प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको हो । आईजीपी कुँवरले हरेक क्रियाकलापलाई भिडिओमार्फत प्रशारण गर्न निर्देशन नै दिएको बताइन्छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले पछिल्लो समय नेपाल प्रहरीले अपराध नियन्त्रण तथा समाज परिवर्तनको लागि विभिन्न माध्यमहरुबाट उत्कृष्ट जनचेतनामूलक सामग्रीहरु प्रशारण गर्दै आइरहेको बताए ।
‘केही नयाँ गरौं भन्ने उद्देश्यले आईजीपी सापबाट जनचेतनामूलक सामग्री प्रशारण गर्न निर्देशन भएपछि भिडिओमार्फत नभई फोटोलाई समेत एडिट गरी जनचेतनामूलक सूचनाहरु प्रशारण गर्दै आइरहेका छौं,’ प्रवक्ता कार्कीले भने, ‘जुन तरिका अहिले सबै यूनिटहरुमा समेत लागू भएको छ ।’
त्यस्तै टोलटोलमा प्रहरीको उपस्थिति देखाउन, समाजमा हुने अपराध नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले पनि विभिन्न स्थानमा पुगेर प्रहरीले जनचेतनामूलक कार्यक्रम गर्ने गरेको छ ।
यी कार्यक्रममा एक करोडभन्दा धेरै नागरिकहरुको सहभागिता रहेको पनि प्रहरीले जनाएको छ ।
‘यो अवधिमा सामुदायिक–प्रहरी साझेदारी, सामाजिक अपराधविरुद्ध जनचेतनामूलक कार्यक्रम, सवारी दुर्घटना तथा ट्राफिक नियम सम्वन्धी जनचेतनामूलक कार्यक्रम, नागरिक सुनुवाईलगायतका कार्यक्रम सम्पन्न गरेका छौं,’ प्रवक्ता कार्कीले भने ।
प्रहरी नायब महानिरीक्षक (डिआईजी) समेत रहेका प्रवक्ता कार्कीले यस्ता कार्यक्रमहरुलाई अझ तिव्रताका साथ अगाडि बढाउँदै लैजाने लक्ष्य प्रहरीले राखेको बताए । यस्ता कार्यक्रममार्फत अपराध नियन्त्रणका साथै सम्भावित सूचनाहरु प्राप्त हुने गरेको उनको भनाई छ ।
प्रहरीले अपराध नियन्त्रण तथा उत्कृष्ट जनचेतनामूलक कार्यक्रम गर्ने प्रहरी यूनिटहरुलाई पनि सम्मान र पुरस्कृत गर्ने गरेको छ ।
