काठमाडौं । अस्थिर राजनीति र सत्तालुछाचुँडीको प्रत्यक्ष असर नेपाल प्रहरी संगठनमा परेको छ । अझ सुरक्षा निकायमा पदोन्नतिका बेलामा रस्साकस्सी हुने गर्छ ।
विगत एक महिना अघिदेखि रिक्त रहेको प्राविधिक नायब महानिरीक्षक (डिआईजी) बढुवा सिफारिस गर्न सकिरहेका छैनन् गृहमन्त्री रवि लामिछाने । सत्ता र कुर्सी जोगाउनतर्फ मन्त्री लामिछाने लाग्दा बढुवाका दाबेदारहरु निराश हुन पुगेका छन् ।
डिआईजी बढुवा सिफारिस गृहमन्त्रीस्तरीय निर्णयबाट हुने हो । विगत एक महिनादेखि नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा दुई डिआईजी पद रिक्त छ । दक्षलाई भन्दा पनि आफ्नो पक्षकालाई पदोन्नति गर्न खोजेपछि प्रतिस्पर्धीहरु निराश बन्न पुगेका हुन् ।
सोही कारण यतिबेला नेपाल प्रहरी अस्पतालमा हल्लीखल्ली मच्चिन थालेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआईजीमा बढुवा हुन केही जुनियर चिकित्सकहरुले शक्तिकेन्द्र धाइरहेको पाइएको हो ।
ती पदमा बढुवा हुनका लागि एसएसपी हरु डा. दीपक श्रेष्ठ र डा. सुभास आचार्य प्रबल दाबेदार हुन । श्रेष्ठ (आँखा) र आचार्य (नाक, कान, घाँटी)को डाक्टर हुन् । उनीहरु बढुवाको लागि सक्रियरूपमा लागेपनि सरकारले सुनुवाई गर्ने छाँटकाट देखिएको छैन ।
किनकि उनीहरु अहिले बढुवा नभए केही दिनमै अवकाशमा जाँदैछन् । उनीहरु दुवैजना २०५९ जेठ २० गते भर्ना भएका हुन् । त्यस्तै सँगै २०७५ असार १३ गते एसएसपी भएका थिए । अस्पतालमा रहेका एसएसपीमध्ये उनीहरु सिनियर हुन् ।
यस्तै उनीहरुसँगै डा. दीपा न्हुच्छे प्रधान र डा. अभिमन्यु श्रेष्ठ समेत डिआईजी बढुवामा कसरत गरिरहेका छन् । सिनियर एसएसपीहरु श्रेष्ठ र आचार्य बढुवा नभएमा प्रधान र अभिमन्यु श्रेष्ठको सम्भावना प्रबल हुनेछ ।
तर, उनीहरु चारैजनाको दक्षतामाथि पटक पटक प्रश्नचिन्ह भने खडा भएको स्रोत बताउँछ । प्रहरी नेतृत्वसामू समेत उनीहरु विवादित चिकित्सक हुन् ।
त्यस्तै डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव, डा. दिवा शर्मा, डा. विपिन कुमार श्रेष्ठ, डा. संजिता घिमिरे दाहाल, डा. आशिष दत्त, डा. संज्ञा मल्ल र कुशल रानाभाट समेत प्रतिस्पर्धी हुन् ।