काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ४ जनालाई नायब महानिरीक्षक डिआईजी)मा बढुवा सिफारिस गरेसँगै बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको लागि समेत बाटो खुलेको छ । रिक्त पद पूर्तिको लागि प्रधान कार्यालयले तयारी थालेको हो ।
प्रहरीमा हाल ४ एसएसपीको पद नै रिक्त छ । जसमध्ये २०७४ साउनमा प्रहरी उपरीक्षक (एसपी) भएका विमल बस्नेत पहिलो नम्बरमा रहेका छन् । तर, उनी प्रहरी संगठनमा विवादित प्रहरी अधिकृत हुन् । एसपी हुँदा निलम्बनमा परेका थिए ।
त्यसपछि एसपी हिरा बहादुर पाण्डे दोस्रो नम्बरमा छन् । एसपी पाण्डे सिराहा प्रहरी प्रमुख हुँदा नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएपछि निलम्बनमा परेका अधिकृत हुन् । उनले यादवलाई गोली हानेर मार्ने धम्की दिएको पुष्टि भएपछि निलम्बन गरिएको थियो ।
माथिका दुवैजना एसपी निलम्बनमा परेका कारण उनीहरुको बढुवा हुने सम्भावना कम रहेको बताइन्छ ।
त्यसपछि तेस्रो नम्बरमा छन् एसपी श्यामकृष्ण अधिकारी । खरो स्वभावका एसपी अधिकारीले एक वर्ष महोत्तरी र १८ महिना बाँके जस्तो अति सम्वेदनशील जिल्लाको कमाण्ड गरे ।
हाल पोखरा गणमा कार्यरत एसपी अधिकारी संगठनमा काबिल अफिसरको रुपमा चिनिन्छन् । यसअघिको बढुवामा नै छुटेका एसपी अधिकारीलाई अहिलेको बढुवामा छुटाउन नहुने पक्षमा प्रहरी नेतृत्व छन् ।
यस्तै चौथो नम्बरमा छन् एसपी नान्तिराज गुरुङ । उनी समेत प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृत हुन् । एसपी गुरुङले पनि चितवन जिल्लाको सफल कमाण्ड गरेका थिए । उनी पनि बढुवाको दाबेदार हुन् ।
पाचौ नम्बरमा छन् एसपी रविन्द्र रेग्मी । उनी बरियतामा अघि रहेकाले उनको पनि सम्भावना छ । प्रहरी संगठनमा इमान्दार तथा भद्र स्वभावका रेग्मी हाल उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।
त्यस्तै रमेश थापा, कृष्ण पंगेनी, नवराज अधिकारी, रविन्द्र रेग्मी, अजय केसी, सन्तोष खड्का, कृष्ण प्रसाद कोइराला, गोविन्द अधिकारी, कृष्ण प्रसाई, विनोद सिलवाल, भिम बहादुर दाहाल, प्रकाश रानाभाट पनि प्रतिस्पर्धामा रहेका छन् ।
जसमध्ये एसपी थापा प्रहरी संगठनमा काबिल अफिसरको रुपमा चिनिन्छन् । त्यसैले पनि एसपी थापालाई अगाडि ल्याउनुपर्ने पक्षमा गृह नेतृत्व रहेको स्रोत बताउँछ ।
यस्तै एसपी पंगेनी समेत प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृत हुन् । त्यसैले उनलाई समेत बढुवा गरेर अगाडि ल्याउनुपर्ने पक्षमा प्रहरी नेतृत्व रहेको बुझिएको छ ।
यस्तै खरो स्वभावका एसपी अधिकारी समेत कमाण्ड कन्टोलमा अब्बल मानिन्छन् । हाल उनी जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत छन् । उनको काम गर्ने शैलीले पनि उनी एसएसपी बढुवाको प्रत्यासी हुुन् ।
त्यस्तै एसपी केसी समेत इमान्दार प्रहरी अधिकृत हुन् । यसैगरी विमलराज कँडेल, कमल थापा, जर्नादन जिसी, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, हेम कुमार थापा, श्याम कुमार महतो, वीर बहादुर बुढामगरपनि प्रतिस्पर्धामा छन् ।
उनीहरु एकैपटक २०७५ माघ १० गते एसपीमा बढुवा भएका हुन् ।
