काठमाडौं । सोमबार अर्थात हिजो प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य र इलामका वासुदेव खतिवडाको जिम्मेवारी खोसेको छ ।
एसपी खतिवडालाई प्रहरी मुख्यालय बोलाइएको छ भने उनको स्थानमा एसपी प्रभु ढकालको काज सरुवा गरिएको छ । यस्तै आचार्यको ठाउँमा एसपी रमेश पण्डितको सरुवा भएको प्रधान कार्यालयले जनाएको छ ।
सिराहामा आचार्यलाई १ फागुन २०८० को सरुवामा पठाइएको थियो भने इलामका खतिवडाको पनि एक वर्ष अवधि नपुग्दै सरुवा गरिएको हो । उनीहरुलाई हटाउनुको कारणबारे प्रहरी प्रधान कार्यालयले बताएको छैन ।
त्यस्तै ठिक एक महिनाअघि २३ चैतमा प्रधान कार्यालयले ७ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो । बाँके, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र नुवाकोटका एसपीको सरुवा भएको थियो ।
जतिबेला सर्लाहीका एसपी दयानिधी ज्ञवाली र महोत्तरीका एसपी श्याम कुमार राई डेढ महिनामै तानिएका हुन् । उनीहरुले फागुन २ मा जिल्ला कमाण्ड सम्हालेका थिए । तर, एसपी ज्ञवालीको पछिल्लो कार्यसम्पादन राम्रो हुँदाहुँदै पनि जिम्मेवारीबाट हटाइएको थियो ।
त्यसैगरी बाँकेका सुवासचन्द्र बोहरा पनि ६ महिनामै तानिएका थिए । उनी २५ असोज २०८० मा बाँकेको कमाण्ड सम्हाल्न पुगेका थिए । त्यस्तै बाराका एसपी सुरेश काफ्ले समेत ७ महिनामै तानिए ।
यस्तै धनुषाका एसपी मित्रबन्धु शर्मासमेत ५ महिना नबित्दै तानिए । त्यसैगरी १६ भदौ २०८० मा रौतहटको कमाण्ड गर्न पुगेका एसपी महेन्द्रकुमार श्रेष्ठको समेत ७ महिनामै जिम्मेवारी खोसियो ।
त्यसपछि ११ वैशाखमा प्रधान कार्यालयले सिन्धुलीका एसपी विनोद शर्मालाई समेत २ माहिनामै हटायो । शर्माको २ फागुनमा सिन्धुली सरुवा भएको थियो । उनको ठाउँमा एसपी गोवन्दराज काफ्लेलाई प्रहरी मुख्यालयले खटाइसकेको छ ।
यसरी पछिल्लो समय जिल्ला इन्चार्जहरु समयाअवागै तानिन थालेपछि कतिपयले प्रहरी संगठनमा गृहमन्त्री रवि लामिछानेको हस्तक्षेप बढ्यो र संगठन प्रमुख निरिह भए भनेर चर्चा समेत गरेका छन् ।
तर, समग्रमा बुझ्दा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले कार्यसम्पादनमा कमजोर देखिएका इन्चार्जलाई तत्कालै हटाउने रणनीति लिएको देखिन्छ । आईजीपी कुँवरको रणनीतिपछि अन्य जिल्लाका एसपीहरु सर्तक हुन थालेका छन् ।
‘गृहमन्त्रीले समेत कार्यसम्पादनमा कमजोर अधिकृतलाई तत्काल कारबाही गर्नु भन्ने प्रष्ट आदेश दिएपछि आईजीपी कुँवरले जसले गल्ती गरेको छ त्यसलाई मात्र तानेका हुन्,’ आईजीपी सचिवालयले भन्यो ।
एसपी तानिएको विषयमा आईजीपी कुँवरले गलत गर्नेमाथि मात्र कारबाही हुने बताए । आईजीपी कुँवरले भने, ‘जिल्लाका एसपी मात्र होइन, मातहतका इन्चार्जहरुले समेत होसियार भएर काम गर्नु, जसले राम्रो गर्छ ऊ पुरस्कृत समेत हुनेछ ।’
गुनासो आउँदैमा कारबाही हुँदैन र नभएको प्रष्ट्याउँदै आईजीपी कुँवरले अनुसन्धानपछि कहिँकतै चुकेको प्रमाण पाएपछि मात्र जिल्लाका एसपी तानिएको बताए । जतिबेला उनीहरुलाई किन हटाइएको भनेर कारण खुलाइएको थिएन ।
तर, बाँकेका एसपी बोहरा आर्थिक अनियमिततामा मुछिएको, महोत्तरीका राईले तस्करी खुलाएको, बाराका एसपी काफ्ले र धनुषाका एसपी शर्मालाई कमजोर कमाण्डका कारण, रौतहटका एसपी श्रेष्ठ आर्थिक अनियमिततामा मुछिएको गुनासो उनीहरुलाई आईजीपी कुँवरले तानेको विश्वस्त स्रोत बताउँछ ।
विश्वस्त स्रोतका अनुसार सिन्धुलीका एसपी शर्मालाई हटाउनुको कारण कार्यसम्पादनको विषयमा उजुरी परेपछि कारबाहीस्वरुप हटाइएको हो । तर, उनलाई समेत हटाउनुको कारणबारे केही खुलाइएको थिएन ।
