काठमाडौ । २७ अप्रिलमा अलिना पुन मगर पनि हङकङ प्रहरीमा भर्ना भएकी छन् । यसअघि पहिले मीरा पुन मगर हङकङ प्रहरीमा भर्ना भएकी थिइन् ।
हङकङ प्रहरीमा भर्ना हुने पहिलो र दोस्रो नेपाली महिला एकै परिवारका दिदीबहिनी हुन् । मिरा हङकङ प्रहरीमा सेवामा प्रवेश गर्ने पहिलो नेपाली महिला हुन् भने अलिना दोस्रो नेपाली महिला हुन् ।
हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भए पनि महिलाको रुपमा यी दुई चेलीले भने पहिलो पटक डेब्यु गरेका हुन् । उनीहरूको पुख्र्यौली थलो नेपालमा अन्नपूर्ण गाउँपालिका–५, पाउदुआरसिख म्याग्दी हो।
उनीहरू नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’ अन्तर्गत प्रहरी तालिम पूरा गरी प्रहरीमा भर्ना भएका हुन् ।
उनीहरूका अभिभावक लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका छन् । मीराले दिदीबहिनी नै प्रहरी सेवामा प्रवेश गर्न सफल भएको पहिलो श्रेय बाबु काशी र आमा कमलालाई दिएकी छन् ।
बहिनी पनि सेवामा प्रवेश गरेपछि तीन दिनअघि उनले फेसबुकमा स्ट्याटस लेख्दै भनेकी छन्, ‘कहिल्यै हार नमान्न प्रोत्साहन दिने आमाबुबा हाम्रा नायक हुनुहुन्छ । यस्तै, सेवा प्रवेशको दोस्रो श्रेय उनले आफ्नो श्रीमान्लाई दिएकी छन् ।’
करिब ३५ हजारको संख्यामा रहेको हङकङ प्रहरीमा यसअघि नै केही नेपाल कार्यरत छन् ।
