पोखरा । एक हप्ताअघि जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापालाई एउटा सूचना आउँछ- पोखरा महानगरपालिका आसपासमा अटोमेटिक पेस्तोलसहित एक व्यक्ति हिँड्डुल गरिरहन्छन् ।
त्यसपछि एसपी थापाले आफू मातहतका सबै युनिटलाई उक्त सूचना रिले गर्छन् । सबै युनिट विशेषतः वडा प्रहरी कार्यालय, बैदामलाई हाइ हलर्टमा रहन निर्देशन दिन्छन् । त्यसपछि ती व्यक्तिको खोजीमा कास्की प्रहरी लागिपर्छ ।
एउटा टोलीले ती व्यक्तिको विगत कोट्याउँछ । अनुसन्धानको क्रममा विगत हेर्दै जाँदा ती व्यक्तिविरुद्ध २०८० कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा चोरी तथा डाँका मुद्दा दर्ता भएको खुल्छ । ती व्यक्ति हुन्, पोखरा सराङकोटका नरबहादुर विक ।
तर, यो बीचमा उनी पक्राउ पर्दैनन् । अन्ततः आज बिहान पुनः विक पोखरा महानगरपालिका २४ बाँस्कोटमा रहेको विशेष सूचना एसपी थापालाई आउँछ । तत्कालै प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका विकलाई पक्राउ गर्न वडा प्रहरी कार्यालय, बैदामको टोली पुग्छ, तब उनी भाग्छन् ।
प्रहरी देख्नासाथ विकले आफूसँग रहेको पेस्तोल एक निर्माणधिन घरतिर फालेर मोटरसाइकलमा भाग्न खोजेको एसपी थापाले बताए । तर, पनि कास्की प्रहरीले विकलाई भाग्दै गरेकै अवस्थामा पक्राउ गर्न सफल भएको छ ।
कास्की प्रहरी प्रमुख एसपी थापाले स्कुपखबरसँगको कुराकानीमा भने, ‘भाग्दै गरेकै अवस्थामा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका विकलाई पोखराको पर्यटकीय केन्द्र लेकसाइडबाट अटोमेटिक पेस्तोलसहित पक्राउ गर्न सफल भएका हौं ।’
उनले पोखरा महानगरपालिका—२४ मा निर्माणाधीन घरमा ९एमएम अटोमेटिक पेस्तोल र पेस्तोलमा लाग्ने ९एमएम टूजेट ९६केएस लेखेको गोली फालेका थिए । प्रहरीले घटनास्थलबाट पेस्तोलसँगै गोली पनि बरामद गरेको छ ।
त्यस्तै भाग्नलाई प्रयोग भएको बा.प्र. ०३३ प १६३३ नम्बरको मोटरसाइकल समेत बरामद भएको एसपी थापा बताउँछन् । उनै विक पटक-पटक जेल बस्दै छुट्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
विक लागु औषधदेखि चोरी र लुटपाटका घटनामा १३ पटकसम्म पक्राउ परेको पाइएको एसपी थापाले बताए । एसपी थापाले भने, ‘लागूऔषधमा ३ पटक, चोरी तथा डाँकामा ४ पटक र अभद्र व्यवहारमा ३ र अन्य सार्वजनिक कसुरमा विकले ३ पटक मुद्दा खेपेका छन् ।’
पहिलोपटक विक २०६२ चैत ९ गते अभद्र मुद्दामा पक्राउ परेका थिए । जतिबेला उनी १९ वर्षका थिए । त्यसपछि उनी २०६५ चैत २६ गते लागूऔषध मुद्दामा समातिए । यसरी उनी १३ पटकसम्म पक्राउ पर्दै छुट्दै आएको पाइएको छ ।

