काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले अस्तव्यस्त अवस्थामा रहेको प्रहरी संगठन सुधार्न र जनताको भरपर्दो संगठन बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् ।
नेपाल प्रहरीले देश र जनताको पक्षमा निरन्तर रुपमा प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै आईजीपी कुँवरले नेपाल प्रहरीलाई समयसापेक्ष परिमार्जन र सुधार गर्दै लाने प्रतिबद्धता व्यक्त गरे ।
स्कुपखबरसँगको कुराकानीमा आईजीपी कुँवरले मुलुकका विभिन्न स्थानमा प्रहरीले गरेका सकारात्मक कामको उदाहरण दिँदै प्रहरी संगठनमा केही समयदेखि रोकिएको सरुवा–बढुवा गर्न आफू सफल भएको बताए ।
प्रहरी संगठनलाई पनि संघीयताअनुसार रुपान्तरण गर्न कानुन निर्माण र विशेष प्रहरी कार्यक्रमलाई प्राथमिकतामा राखेको आईजीपी कुँवरको भनाइ छ ।
सरकारका हरेक काममा प्रहरी पहिलो मोर्चामा भएको बताउँदै उनले प्रहरीभित्रका कमीकमजोरीलाई पनि सुधार गर्दै अघि बढिरहेको जिकिर गरे । ‘प्रहरी संगठनमा राम्रो गर्ने पुरस्कृत हुन्छन्, नराम्रो गर्नेहरु सजायको हकदार हुन्छन् । यो कुरा कडाइका साथ लागु भइरहेको छ,’ उनले भने ।
आफूलाई काम नगर्ने भनेर टिप्पणी गरिएकोमा उनको असन्तुष्टि थियो । उनले भने, ‘राम्रो गर्दागर्दै आईजीपी सुतेको छ भन्ने ? नकारात्मक धारणाको विकास नगरौं ।’
आईजीपी कुँवरले गुण्डागर्दीमा संग्लन व्यक्ति वा गिरोह र कुनै पनि अपराधमा लागेकाविरुद्ध नेपाल प्रहरी कडाइका साथ प्रस्तुत भइरहेको बताए । शान्ति सुरक्षा र अपराध अनुसन्धान पहिलो प्राथमिकतामा रहेको कुँवरको दाबी छ ।
आईजीपी कुँवरको कार्यकालमा ठूला ठूला प्रकरणको सफल अनुसन्धान भएको छ । त्यस्तै प्रहरीमा हुने नियमित सरुवा बढुवा भइरहेको छ । यस्तै गुण्डागर्दी निमिट्यान्नै भएको छ ।
