काठमाडौं । तीन दिनअघि नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) बढुवाको लागि सिफारिस भए । एसपी बढुवा सिफरिससँगै प्रहरी प्रधान कार्यालयले डिएसपी बढुवाको समेत तयारी थालेको छ ।
बढुवाको सरगर्मी बढेसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूले चर्को लबिङ सुरु गरेका छन् । इन्स्पेक्टरबाट डिएसपी बढुवाका लागि २०७० सालमा भर्ना भएका टोलीहरू प्रतिस्पर्धामा छन् । २०७० सालमा इन्स्पेक्टरमा भर्ना भएको टोली ठूलो पनि छ ।
यो टोलीमा १४७ जना इन्स्पेक्टर छन्, जसमा ४६ जना जेठ २२ गते डिएसपी भइसकेका छन् । बाँकी १०१ जना अब रिक्त हुने पदका लागि प्रतिस्पर्धामा छन् । उनीहरुमध्ये पनि केही कारबाही खाएका अधिकृत छन् । यी सबै जना डिएसपी बढुवाका लागि दाबेदार हुन् ।
तर, जसको नेताहरूसँग राम्रो सम्बन्ध छ, उनीहरू नै बढुवामा पर्ने देखिएको छ । सत्तारूढ दल निकट रहेका निरीक्षकहरू बढुवामा पर्ने सम्भावना छ । तर, प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर राजनीतिक आडमा बढुवा ननिस्किने बताउँछन् ।
संगठनमा राम्रो र सक्षम प्रहरी अधिकृतलाई असर नपर्ने गरी बढुवा गर्नुपर्ने पक्षमा आफू रहेको आईजीपी कुँवरले बताए । सिनियर र सक्षम अधिकृत रहँदारहँदै पनि कारबाही भोगेका इन्स्पेक्टररूलाई बढुवामा अगाडि नल्याउने आईजीपी कुँवर बताउँछन् ।
प्रहरी व्यवस्थाअनुसार एसपीसम्म बढुवाको अधिकार आईजीपीलाई छ । त्यसैले आईजीपी कुँवरले सक्षम, इमान्दार र संगठनप्रति बफादार अधिकृतलाई बढुवा गर्नुपर्ने अडान राखेका छन् ।
केही विवादित निरीक्षकहरू बढुवाका लागि बालुवाटार र गृह मन्त्रालयसँग नजिक रहेका व्यक्तिहरूलाई प्रयोग गरेर शक्तिकेन्द्र धाइरहेका छन् । जसकारण बालुवाटार र गृह मन्त्रालयले डिएसपी बढुवामा हस्तक्षेप गर्ने प्रबल सम्भावना पनि छ ।
यता, आईजीपी कुँवरले कारबाही भोगेका र नभोगेको निरीक्षकहरूको सूचीसमेत निकालेर ‘ट्र्याक रेकर्ड’ अध्ययन गरिरहेका प्रहरी प्रधान कार्यालय स्रोतले जनायो । प्रहरीमा बढुवाको क्रममा वरिष्ठता, कार्यक्षमता, अनुभवलाई प्रमुख आधार मान्ने गरिन्छ ।
हाल संगठनमा २ दर्जनबढी डिएसपीको पद रिक्त छ ।
