काठमाडौं । गत २०७९ चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले बसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको थियो । कुँवर आईजीमा नियुक्त भएको आज एकवर्ष पुगेको छ ।
आईजीको दज्र्यानी चिह्न लगाएसँगै कुँवरले संगठन सुदृढीकरण गर्ने र विधिसम्मत सरुवा र बढुवा गर्ने प्रतिबद्धता जनाएका थिए । सरुवा/बढुवामा अन्याय नगर्ने र मातहतका कर्मचारीहरूको वृत्ति विकासमा ध्यान दिने उनले बताएका थिए ।
उनले प्रहरी जनशक्तिकोे वृद्धि, स्रोत साधन र क्षमतावान् बनाउन आफू संगठन प्रमुखको हैसियतले निरन्तर लागिपर्ने समेत बताएका थिए । संगठन बलियो बनाउन कुनै तत्वसँग साँठगाँठ नगर्ने कुँवरको भनाइ थियो ।
‘प्रहरी कर्मचारीको मनोबललाई बढाएर संगठनलाई नमुना संगठन बनाउनेछु’, कुँवरले जतिबेला भनेका थिए, ‘प्रहरीलाई साधन स्रोतयुक्त बनाउन आवश्यक ठाउँमा चौकीको संख्या थप्ने, क्षमता वृद्धि गर्ने र भइरहेका चौकीको स्तरोन्नतिमा जोड गर्नुपर्ने देखिन्छ ।’
सोही क्रममा आफ्नो कार्यकालमा सरुवा/बढुवा निष्पक्ष ढंगबाट हुने आईजी कुँवरले दाबी गरेका थिए । संगठनभित्र इमान्दार भएर काम गर्ने अधिकृतहरूको पक्षमा आफू सधैँ उभिने आईजी कुँवरको दाबी थियो । त्यसो भए आईजी कुँवर आफ्नो अडानमा अडिग छन् त ?
आईजी कुँवरको कार्यकालमा तीन हजारभन्दा बढीको बढुवा भएको छ भने करिब ६ हजारको हाराहारीमा सरुवा भएको छ । लामो समयदेखि नेपाल प्रहरीको सरुवा/बढुवा पारदर्शी रुपले भएको आईजीपी कुँवरको दाबी छ ।
आफ्नो कार्यकालमा भएको सरुवा/बढुवा विभिन्न सञ्चारमाध्यमबाट प्रसारित समाचारहरूमा नकारात्मक टिप्पणी गर्न आवश्यक नभएको कुँवरको बुझाइ छ । उनले स्कुपखबरसँगको कुराकानीमा भने, ‘यसअघि र अहिलेको सरुवा/बढुवा हेर्नुस् न, कसरी भएको छ ?’

संगठनलाई बलियो बनाउन आफू निरन्तर लागिरहने आईजीपी कुँवरको भनाइ छ । उनले भने, ‘संगठनको हित विपरित कुनै पनि काम गरेको छैन् र गर्दिन पनि । त्यसैले दावाका साथ भन्छु संगठन बनाउन निरन्तर लागिपर्नेछु ।’
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं नायब महानिरीक्षक (डिआईजी) भीम प्रसाद ढकालका अनुसार वर्तमान आईजीपी सा’पको कार्यकालमा भएको सरुवा/बढुवा अहिलेसम्मकै सर्वोत्कृष्ट हो ।
‘संगठनभित्र सरुवा/बढुवा स्वाभाविक प्रक्रिया नै हो तर पनि वर्तमान चिफसा’पको एकवर्षे कार्यकालमा पनि धेरै प्रहरी कर्मचारीको सरुवा र बढुवा भएको छ’, उनले भने, ‘सरुवा/बढुवा नपाएर निराश प्रहरी कर्मचारी पनि खुसी देखिएका छन्, उनीहरूको मनोबल बढेको छ ।’
सरुवा र बढुवामा हुने अनावश्यक चलखेल हालका चिफको कार्यकालमा बन्द नै भएको प्रवक्ता ढकालको दाबी छ । ‘एआईजी, डीआईजी, एसएसपीको बढुवा हेरे पुग्छ,’ उनले थपे ।
जतिको बढुवा भएको छ, उनीहरूको वरिष्ठता, कार्यसम्पादन मूल्याकंन र इमानका आधारमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । राजनीतिक दबाब थेगेर नै आईजी कुँवरले प्रहरी कर्मचारीहरूको सरुवा/बढुवा निकालेको कार्यालयको दाबी छ ।

कुँवरका भावी योजना
नवीनतम सुरक्षा चुनौतीको पूर्वानुमान गरी प्रभावकारी सुरक्षा योजना लागू गर्ने, नेपाल प्रहरीलाई आधुनिक, स्रोतसाधन सम्पन्न र प्रविधियुक्तको रूपमा विकास गर्दै लैजाने योजना कुँवरको छ ।
भ्रष्टाचार, मानवअधिकार उल्लघंन तथा लैगिंक हिंसामा शून्य सहनशीलताको नीतिलाई अक्षरशः पालना गर्दै लैजाने तथा विशिष्टीकृत तालिम शिक्षालयहरूको दरबन्दी थप गरी स्थायी शिक्षालयका रूपमा रूपान्तरण गर्ने योजना पनि रहेको आईजीपी कुँवरले बताए ।
यसैगरी नेपाल प्रहरीका सकल दर्जाका राष्ट्रसेवकले आफ्ना अनुभवबाट सँगालेका सुझाव, सल्लाहअनुसारका विषयमा सुधार गर्दै लैजाने दीर्घकालीन सोचसहितको नीति तथा योजनालाई महत्व दिइएको आईजीपी कुँवरको दाबी छ ।
यसका साथै सवारीसाधनको व्यवस्थापन गर्दै भौतिक संरचनाको निर्माणमा उल्लेख्य सफलता हासिल गर्ने र विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी प्रविधिमैत्री संगठन निर्माणमा जोड दिने काम भइरहेको उनले बताए ।
