काठमाडौं । निक्कै रस्साकस्सीबीच कार्य सम्पादन मुल्यांकनमा पहिलो नम्बरमा रहेका तत्कालिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्त बहादुर कुँवर २०७९ चैत ११ गते नेपाल प्रहरीको नेतृत्वमा आए ।
कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) भइसकेपछि नेपाल प्रहरीमा चौतर्फी सुधार प्रयास भएको परिणामहरुबाट देखिन्छ । प्रहरीको सांगठनिक ढाँचा र कार्यक्षमतामा समेत उनको कार्यकालमा निकै प्रगति भएको तथ्यहरुले देखाउँछ ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरीभित्र रहेको आन्तरिक कमिकमजोरीहरुलाई सुधार गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्न उल्लेखनिय भूमिका निर्वाह गरेका छन् ।
उनले आफ्नो कार्यकालमा स्थानीय तहमा प्रहरीको उल्लेखनीय सहभागिता गराउन सफल भएका छन् । सोही अनुरुप प्रहरी महानिरीक्षक कुँवरको कार्यकालमा २४ वटा मोटरसाइकल र ७ वटा गाडी अनुदानमार्फत प्राप्त भएको छ ।
महानिरीक्षकको जिम्मेवारी सम्हालेदेखि नै कुँवर सुशासन र शान्ति स्थापनामा प्रतिवद्ध भएर लागेका थिए । उनी प्रहरीमा आन्तरिक सुद्धिकरणको अभियानमा निकै आक्रामक रुपमा प्रस्तुुत भए ।
प्रहरीको बर्दी लगाएर अनैतिक क्रियाकलाप गर्ने २ हजार ४ सय ३८ प्रहरी अधिकारीहरुलाई उनले कारवाहीको दायरामा ल्याउन सफल भए ।
गलत काम गर्नेलाई कारबाही मात्रै गरेनन्, संगठन भित्र जिम्मेवार, निष्ठावान र कर्तव्यनिष्ठ प्रहरी अधिकारीहरुलाई परस्कृत समेत गरे ।
कुँवरको कार्यकालमा ६ हजार ६ सय ८२ प्रहरी अधिकारी पुरस्कृत भएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआईजी) भीम प्रसाद ढकालले जानकारी दिए ।
नेपाल प्रहरी भित्रको कर्मचारीको क्षमता अभिवृद्धी गर्नका लागि महानिरीक्षक कुँवरले २७ हजार १ सय २ जनालाई प्रशिक्षण समेत दिए । त्यस्तै ११ हजार ७ सय १५ कर्मचारीहरुलाई घुम्ति अनुशिक्षण र ३ सय ४४ जनालाई विदेश तालिम प्रदान गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।
कुँवर नेपाल प्रहरीको नेतृत्वमा आएदेखि आपराधिक गतिविधिमा पनि तुलनात्मक रुपमा नियन्त्रण भएको तथ्यांकले देखाएको छ । उनको कार्यकालमा (आ.व. २०७० चैतदेखि २०८० माघ मसान्त)सम्म ४९ हजार ८ सय २१ मुद्दा दर्ता भएका छन् ।
त्यसमध्ये ११ हजार २ सय ६६ जनालाई पक्राउ गरि अदालतबाट आदेश भएको बिगो असुल गरि कारवाही प्रक्रिया अगाडी बढाइएको छ । बिगोबाट कुल १ अर्ब ६६ करोड, ९७ लाख २० हजार ९४५ रुपैयाँ असुल गरिएको प्रवक्ता ढकालले बताए ।
चालु आर्थिक बर्षको पुस मसान्तसम्म जबरजस्ती करणी र ज्यान मार्ने उद्योगका घटनामा समेत प्रहरीले अपराधको सफल अनुसन्धान गरेको छ । जबरजस्ती करणीमा १ हजार १ सय ५४ मुद्दा दर्ता भएपनि प्रहरीले ९ सय ५ जनालाई पक्राउ गर्न सफल भएको छ ।
यस्तै ज्यान मार्ने उद्योगमा ५ सय ३४ वटा मुद्दा दर्ता भएकोमा ७ सय ११ जना पक्राउ परेको प्रहरी तथ्याकंले देखाएको छ ।
कुँवरको आगमन भएसँगै मानव बेचबिखनमा संलग्न १६१ वटा मुद्दा दर्ता भएसँगै १ सय ५९ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसबीचमा बाल यौन दुराचारमा संलग्न २ सय ९९ जनालाई पक्राउ गरि आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको छ ।
प्रहरीले मानव बेचविखनको जालो तोड्दै निकै ठूलो संख्यामा मानिसहरुलाई बेचिनबाट बचाएको छ । प्रहरीले बेचिन खोजेका ३ सय ६५ जनालाई उद्दार समेत गरेको प्रहरी तथ्याकंमा उल्लेख छ ।
त्यस्तै प्रहरी महानिरीक्षक कुँवरको कार्यकालमा प्रहरीले १ अर्ब ७१ करोड २५ लाख ८ हजार १५३ रुपैयाँ ट्राफिक कारबाहीबाट राजश्व संकलन गरेको छ । यो विगतको तुलनामा बढी हो ।
यस्तै सुनबाट ८० करोड बढी बराबरको राजश्व संकलन भएको प्रधान कार्यालयले जनाएको छ । त्यस्तै भन्सार छलीमार्फत १ अर्ब ७६ करोड ५८ लाख ९ हजार ४ सय ६८ रावश्व संकलन भएको तथ्यांकले देखाएको छ ।
त्यतिमात्र लागू औषध प्रयोग र ओसारपसारलाई निरुत्साहित गर्नका लागि प्रहरी नेतृत्वले सांगठनीक रुपमा सक्रियता देखाएका छन् । लागू औषधको सम्बन्धमा सानो सूचनालाई समेत महत्वका साथ प्रहरी परिचालन भएका छन् ।
नाकाहरुमा कडाइका साथ प्रहरी अधिकारीहरुको तैनाथ गरिएको छ । महानिरीक्षक कुँवरको कार्यकालमा १८ हजार २ सय १८ किलो गाँजा बरामद गरिएको तथ्यांकले देखाउँछ । त्यस्तै ४ सय २९ किलो चरेस बरामद भएको छ ।
तथ्यांक अनुसार १२ केजी हिरोइन, ४० किलो अफिम, १२ केजी कोकिन, ४१ हजार ६९५ थान डाइजोपाम र ३ लाख ५ हजार ४९८ थान अन्य औषधीजन्य लागू औषध बरामद भएको बताइएको छ ।
प्रहरीको तथ्यांकअनुसार यस बर्ष बरामद गरिएको लागू औषधको परिमाण विगत १५ वर्षयताकै धेरै रहेको छ । लागु औषधसँगै यसको ओसारपसार गर्ने १० हजार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी प्रहरी महानिरीक्षक कुँवरको कार्यकालमा हातहतियार समेत बरामद भएको छ । १९ थान पेस्तोल, २० थान कटुवा पेस्तोल, १३९ थान भरुवा बन्दुक गरी कुल १८९ थान हतियार बरामद भएको प्रहरी तथ्यांकले देखाएको छ । प्रहरीले हतियारमा लाग्ने २६३ थान गोली समेत बरामद गरेको छ ।
त्यतिमात्र नभएर इन्टरपोलको सहयोगमा फरार अपराधीहरु समेत कानुनी दायरमा आएका छन् । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेर विदेशमा लुकिछिपी बस्दै आएका १२ जना अभियुक्तहरुलाई इन्टरपोलमार्फत नेपाल प्रहरीले स्वदेश फिर्ता गरि कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
