काठमाडौं । गत बुधबार राति नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भयो । यो पल्ट अन्य सरुवाहरुमा जस्तो एसपी सरुवा विवादित भएन । केही एसपीहरु जिल्ला इन्चार्ज जान खोजेका थिए, जान पाएनन् । तरपनि उनीहरुले असन्तुष्टि जनाएनन् ।
पछिल्लो समय हुने प्रायः सरुवा सबै विवादित थियो/बन्यो । यसअघि प्रहरी प्रधान कार्यालय वा गृह मन्त्रालयले गर्ने निर्णयमा कोही न कोहीले असन्तुष्टि जनाउने गरेका थिए । तर, योपटकको सरुवामा कसैले असन्तुष्टि नजनाएपछि संगठन प्रमुखको प्रशंसा भएको छ ।
योपटक २५ जिल्लाका मात्र प्रमुख परिवर्तन हुँदै थियो । सिमित जिल्लाहरुको मात्र प्रमुखको सरुवा हुने भएपछि अधिकांश एसपीहरु दौडधुपमा त थिए । तर, संगठन प्रमुखको अडानले जिल्ला इन्चार्ज पाउने/नपाउने सबै सन्तुष्ट देखिएका हुन् ।
पछिल्लो समय प्रहरी निर्णय विवादमा नपर्ने एक मात्र कारण हो, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर । आईजी कुँवरले आफ्नो साथी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अगाडि राखेर निर्णय गर्नु ।
एसपी सरुवा गर्नका लागि पनि आईजीपी कुँवरले आफ्ना ब्याचीहरु सबैलाई अगाडि राखेर सबैसँग सल्लाह गरी निर्णय गरेका थिए । त्यसैले एसपी सरुवा विवादित बन्न नपुगेको प्रहरी प्रधान कार्यालयमा कार्यरत एक सिनियर प्रहरी अधिकृत बताउँछन् ।
यो मात्र काममा होइन आईजीपी कुँवरले सबै निर्णयहरुमा एआईजीहरुलाई अनिवार्य बोलाएर, उनीहरुको सल्लाह र सुझाव लिएर निर्णय गर्ने गरेका छन् । गृहमा कुनै प्रस्ताव लैजानु परेमा पनि उनीहरु एक ढिक्का भएर लैजाने गरेका छन् ।
प्रहरी नेतृत्वको जिम्मेवारी सम्हाल्दै कुँवरले आफ्ना सबै ब्याजीहरुलाई मिलाएर सामूहिक निर्णय गरी अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । सोहीअनुरुप आईजीपी कुँवर कुनैपनि निर्णय गर्नुअघि आफ्ना ब्याचीहरुसँग छलफलमा जुट्नेछन् ।
बढुवामा समेत आईजीपी कुँवरले अडान लिएका कारण वरियताक्रममा रहेका प्रहरी अधिकृतहरुले अवसर पाएका छन् । यसअघिको नेतृत्वको कार्यकालमा सिनियर हुँदाहुँदै पनि कोपभाजनमा परेका अधिकृतहरुले कुँवरको कार्यकालमा फुली लगाउन पाएका छन् ।
आईजीपी कुँवरले सरुवा/बढुवामा कसैलाई असर नपर्ने गरी काम गर्ने पनि बताएका छन् । कार्यसम्पादन मुल्यांकन अनुसार प्रहरी कर्मचारीको सरुवा र बढुवा गरिने भन्दै आईजीपी कुँवरले नेताका घरदैलो नपुग्न मातहतका निकाय प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।
प्रहरीभित्र उनले सिस्टम बसाल्ने आईजीपीको छवि बनाएका छन् । २०७९ चैत ११ गतेदेखि नेपाल प्रहरीको नेतृत्व सम्हालेका कुँवरले उल्लेखनिय काम गरी अभिभावकिय जिम्मेवारी वहन गरेका छन् ।
जतिबेला कुँवरको प्रतिस्पर्धामा एआईजीहरु टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए । तर, उनीहरु सबै अहिले आईजीपी कुँवरलाई सफल बनाउन लागिपरेका छन् । कुँवरलाई सरकारले आईजीपी नियुक्त गरेपछि उनले पूर्वप्रहरी प्रमुख बनेका सबैसँग भेटेर सल्लाह सुझाव लिने गरेका छन् ।
