काठमाडौं । नेपाल प्रहरीका ३० औं प्रहरी महानिरीक्षक (आईजी) हुन् बसन्त कुँवर । सुरुमै उनी संगठनभित्र गुटबन्दी हटाएर सामूहिक नेतृत्व प्रणालीमा अघि बढ्न खोजे । जसले गर्दा आज सिंगो प्रहरी संगठनमा गुटबन्दी अन्त्य भएको छ ।
आईजी नियुक्त भएलगत्तै कुँवरको पदवहाली कार्यक्रममा ब्याचमेटसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अर्थात आईजीका प्रतिस्पर्धीहरु सबै उपस्थित भए । सबैले कुँवरलाई बधाई तथा शुभकामना दिए । जसले एउटा राम्रो सन्देश दिएको थियो ।
तर, केही समयपछि मिडियामा एउटा सनसनीपूर्ण समाचार फैलियो एआईजी श्यामलाल ज्ञवाली र आईजी कुँवरबीचको सम्बन्धमा दरार आयो ।
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानको विषयलाई लिएर एआईजी ज्ञवालीले मिडियाबाजी गरेजस्ता समाचार सम्प्रेषण भयो । जुन समाचारहरुमा आईजी कुँवरलाई नराम्रो बनाइएको थियो ।
जतिबेला ज्ञवाली उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख थिए । उनकै नेतृत्वमा शरणार्थी प्रकरणको अनुसन्धान समेत भएको थियो । त्यसैले एआईजी ज्ञवालीले कतै आफू आईजी बन्नलाई त मिडियाबाजी गरेनन् ? भनेर धेरैले शंका गरे ।
तर, पछिल्लो समय एआईजी ज्ञवालीको रानीपोखरीबाट प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभागमा सरुवा भइसकेको छ । जहाँ आईजी कुँवर र एआईजी ज्ञवालीको दिनहुँ भेट हुन्छ । फुर्सदको समयमा सँगै वाक गरेर चियासमेत पिउने गरेको प्रधान कार्यालय स्रोत बताउँछ ।
आफूलाई कहिल्यै ठूलो नठान्ने स्वभावका आईजी कुँवर संगठनमा गुटबन्दी गर्न चाहँदैनन् । जुनकुरा एआईजी ज्ञवालीको घटनाबाट पनि प्रष्ट हुन्छ । यदी साँच्चीकै मिडियामा आएको कुरालाई कुँवरले विश्वास गरेको भए आज संगठन कुन अवस्थामा पुग्थ्यो होला ?

संगठनमा नेतृत्वले इगो लिने हो भने नराम्रो परिणाम आउनसक्ने जो कोहीले पनि बुझेका छन् । यसअघिका नेतृत्वले इगो लिँदा कतिसम्म संगठनको बद्नाम भएको थियो ? यसरी संगठनभित्र गुट बनाएर हिँड्दा काबिल अफिसरहरु अन्यायमा परेका घटनाहरु प्रशस्त छन् ।
‘त्यसैले आफूलाई सामान्य तरिकाले जीवनयापन गर्न रुचाउने आईजी कुँवर संगठनभित्र कसैलाई अन्याय गर्न चाहँदैनन् । म आईजी भइहालें, मैले मात्र खान पर्छ, मैले मात्र लाउनपर्छ भन्ने स्वभावका उहाँ हुनुहुन्न,’ आईजी सचिवालयमा कार्यरत एक अधिकृतले भने ।
प्रहरी जवानदेखि जुनियर सिनियर अधिकृतहरुको सूची हेर्दै अवसर नपाएकाहरुलाई इन्चार्जमा पठाउने काममा समेत आईजी कुँवरको चासो छ ।
मापदण्ड नै बनाएर कुँवरले सरुवाको सिस्टम बसालेका छन् । जुन सिस्टमको कारण संगठन चलायमान भएको धेरैको बुझाइ समेत छ ।
‘उहाँ अर्थात मेरो ब्याचमेट नभएर नजिकको साथी संगठनमा एउटा सिस्टम बसाल्न लागिपरेको छ,’ यसअघिका मानवस्रोत विभागका प्रमुख एआईजी सन्दीप भण्डारी भन्छन्, ‘उसमा केही गरुँ गरुँ भने उत्साह, हुटहुटी छ । सबै ब्याचीहरुले सहयोग गर्नुपर्छ । मेरो तर्फबाट पुरै समर्थन छ ।’
अहिलेको नेतृत्वमा कुँवर आएपछि संगठनभित्रका गुटबन्दी सबै अन्त्य भएको एआईजी भण्डारी जिकिर गर्छन् । ‘समान व्यवहार गर्ने आईजी कुँवरको काम गर्ने शैलीप्रति सबै ब्याचमेटहरु खुसी नै छौं । जसले गर्दा यो ब्याचमेट संगठनभित्रकै नमूना ब्याची बन्नसक्छ,’ भण्डारी भन्छन् ।
नेपाल प्रहरीमा ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड–२०७९’ लागू भएको छ । कुँवरको कार्यकालमा उक्त मापदण्डलाई नै प्रमुख आधार मानेर सरूवा गरिनु हेडक्वार्टरका लागि सुखद् पक्ष हो । यसले निरन्तरता पाउनेमा आईजी कुँवर विश्वस्त छन् ।
सरुवा/बढुवा पारदर्शी

आईजी नियुक्त भएको केही महिनापछि संवाददातासँगको भेटघाटको क्रममा कुँवरले संगठनका चुनौतिहरूको सामना गर्न प्रहरी संगठन गम्भीरतापूर्वक योजना बनाई कार्यान्वयन गर्दै जाने बताए ।
त्यस्तै प्रहरीको सरुवा बढुवालाई पारदर्शी बनाइने तथा सिस्टमको विकास गरिने आईजी कुँवरको भनाइ थियो । त्यसबेला आईजी कुँवरले प्रहरीको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप रोकिने दाबीसमेत गरेका थिए । जुनकुरा प्रष्ट देखिएको समेत छ ।
विगतको प्रहरी नेतृत्वले कतिपय जिल्लामा कमजोर कार्यसम्पादन भएका प्रहरी नेतृत्व खटाएका कारण शान्ति सुरक्षा प्रभावकारी बन्न नसकेको कुँवरको भनाइ थियो ।
‘अब त्यसो हुँदैन, कार्यसम्पादन तथा कुशल नेतृत्व गर्न सक्ने प्रहरी अधिकारीलाई मात्र जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा खटाइनेछ’, महानिरीक्षक कुँवरले भनेका थिए, ‘लामो समयदेखि रोकिएको प्रहरीको बढुवासमेत थप पारदर्शी तथा उत्कृष्टताका आधारमा हुनेछ ।’
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले आईजी कुँवरको करिब ६ महिनाको कार्यकालमा प्रहरी सङ्गठनमा ऐतिहासिक सरुवा बढुवा भएको दाबी गर्छन् ।
‘प्रहरी सरुवा/बढुवामा हुने अनावश्यक चलखेल हालका चिफसा’पको कार्यकालमा बन्द नै भएको छ,’ प्रवक्ता कडायत भन्छन् । उनीहरूको वरिष्ठता, कार्यसम्पादन मूल्याङ्कन र इमान्दारीको आधारमा बढुवा गरिएको प्रधान कार्यालयको दाबी छ ।
संगठनको कमाण्ड सम्हालेसँगै मातहतका कर्मचारीको मनोबल उच्च राख्ने प्रतिबद्धता गरेका आईजी कुँवरको पहलबाट आएको मापदण्डले निरन्तरता पाउनुपर्ने अधिकांश प्रहरी कर्मचारीहरुको माग छ ।
‘अहिले चाकडी, चाप्लुसीकै भरमा वर्षौंसम्म एकै ठाउँमा र राम्रा ठाउँहरुमा मात्र जान चाहने प्रहरीको निदहराम भएको छ, मापदण्ड पूर्णरुपमा लागू भएमा हामी जस्ता कोही नभएकाले पनि न्याय पाउनेछौं, त्यसैले मापदण्डलाई ऐनमै समावेश गर्नुपर्छ,’ एक प्रहरी कर्मचारी बताउँछन् ।
यसअघि प्रहरीको सरुवा/बढुवामा राजनीतिक तहबाट हस्तक्षेप हुने गरेको बारे स्कुपखबरसँगको जिज्ञासामा आईजी कुँवरले बाहिर हल्ला भएजस्तो राजनीतिक प्रभाव आफूले महसुस नगरेको भन्दै त्यस्ता क्रियाकलापलाई निरुत्साहित गरिएको बताए ।
महानिरीक्षक कुँवरले थपे, ‘तपाईंहरूले नै देख्नुभएको होला, अहिलेको सरुवा/बढुवा कसरी भएको छ । यदि कसैले राजनीतिक दबाबमार्फत सरुवा/बढुवा गर्न लबिइङ गर्छ भने त्यस्ता कर्मचारीको विवरण सङ्कलन गरिएको छ ।’
पहिलेजस्तो नभई यस पटक राजनीतिक हस्तक्षेप तथा बिनादबाब सरुवा/बढुवा भएको कुँवरको भनाइ छ ।
कुँवर आईजी भएको तीन महिनापछि नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न नयाँ कार्ययोजना–२०८० सार्वजनिक गरिएको छ ।

- आईजीपी कुँवरको नेतृत्वसँगै भएका कामहरु
- १. प्रहरीको सरूवा, बढुवा, कार्य सम्पादन मूल्यांकन मापदण्ड निर्माण र यसको प्रभावकारी कार्यान्वयन ।
- २. सरुवाको मापदण्ड तयार गरी सोही अनुसार सरुवा र काज गर्ने व्यवस्थाको थालनी भएको । सेवा विशिष्टिकरण, तालिम, योग्यता, अनुभव र दक्षताको आधारमा सरूवा गर्ने प्रणालीको प्रारम्भ भएको ।
- ३. नक्कली भुटानी शरणार्थीको मुद्दामा जोडिएका हाइप्रोफाइल व्यक्तिहरूलाई कानूनको दायरामा ल्याउने कार्य भइरहेको ।
- ४. प्रहरीको सरुवा, बढुवा र प्रहरीबाट सम्पादन हुने काम कारवाहीमा राजनीतिक हस्तक्षेप र दवाव प्रभावको अन्त्य गरिएको ।
- ५. प्रहरीले पाउने सेवा सुविधालाई पारदर्शी र समान वितरण प्रणालीको विकास गरिएको ।
- ६. प्रहरीमा हुने गरेको भर्ना प्रणालीलाई विवादरहित बनाउने कार्य भएको ।
- ७. प्रहरीको खरिद प्रणालीलाई पारदर्शी र विवादरहित वनाउने कार्य भएको ।
- ८. प्रहरीको वृत्ति विकास प्रणालीमा सुधारको कार्य भइरहेको ।
- ९. संघीय प्रहरी ऐन बनाउने कार्यमा महत्वपूर्ण कार्य भइरहेको ।
- १०. प्रहरी समायोजनको कार्यलाई अगाडी बढाउन लागिएको ।
- ११. प्रहरी सेवामा नागरिकको पहुंच र जनसाझेदारी अभिवृद्धि र ‘समुदाय प्रहरी साझेदारी अभियान’ को प्रभावकारी कार्यान्वयन ।
- १२. प्रहरी आचरण र व्यवहार शुद्धीकरण कार्यक्रम लागु भएको ।
- १३. फिल्ड तहका प्रहरी जवान तथा प्रहरी हवल्दार केन्द्रित कल्याणकारी योजना लागू गर्ने कार्य भइरहेको ।
