काठमाडौं । सन् १९९८ मा उच्च शिक्षाको लागि विद्यार्थी भिषामा जापान प्रवेश पुगेका रोबिन शेरचन टोकियोमा रहेका नेपालीहरूमध्येका होटल तथा रेष्टुरेण्ट व्यवसायमा स्थापित नाम हो ।
उनी दुई दशकभन्दा लामो कडा मेहनत र निरन्तरको लगावले जापानमा नेपाली र जापानिज समाजमा चिरपरिचित सफल व्यवसायीका रूपमा हुनुहन्छ ।
विगत दुई दशक यता जापानमा संघ–संस्था तथा कम्पनीहरूले आयोजना गर्ने विभिन्न सांस्कृतिक कार्यक्रमहरू सफल पार्न, नेपालमा हुने विपत्तिमा आर्थिक सहयोग गर्न, आपत्विपद्मा परेका नेपालीहरूलाई आवश्यक सहयोग गर्ने प्रमुख सहयोगी हात (दाता)का रूपमा समेत उनलाई सबैले प्राथमिकतामा साथ पहिलो सूचीमा राख्ने गर्दछन् ।
समग्रमा भन्नुपर्दा उहाँ जापानमा रहेका नेपाली समाजको आर्थिक पक्ष बलियो पार्ने सशक्त हतियार तथा सबैको प्रेरणाका स्रोत हुन् ।
संघसंस्था हुन् वा आपत्विपद्का काम सँधै आफ्नो थैली खोलेर मनग्ये सहयोग गरेपनि संस्थागत छवी उँचो नलाग्ने, तर सहयोग जारी राख्नुपर्ने विषयमा शेरचनले आफ्नो मन केही समययता खड्कँदै आएको बताए ।
‘अब संस्थाहरुले सहयोग बटुलेर बाँड्ने मात्र होइन, आफैं सक्षम संस्था निर्माणमा लाग्नुपर्छ भन्ने अनुभूति भएपछि एनआरएनए आईसीसीमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ,’ शेरचनको भनाई छ ।

गैरआवासिय नेपाली संघ जापानको सल्लाहकार रहेका शेरचनले यसअघि मानार्थ सदस्यमा र आईसीसी सदस्य रहेर पनि भूमिका निर्वाह गरिसकेका छन् ।
‘अहिलेको आईसीसी उपाध्यक्ष चुनावी माहोल दलगत प्रतिनिधित्व जस्तो हुन लागेकोमा चिन्ता लागेको छ,’ सन् २०२१–२०२३ का लागि जापानबाट आईसीसी सदस्य दावेदार शेरचनले भने, ‘सबै दलले आफ्नै मान्छे मात्र परुन् भन्ने हो भने त दल नै खोले भइहाल्यो नि, यो त सामाजिक संस्था त्यो पनि सबै क्षेत्रको प्रतिनिधित्व गर्ने साझा संस्था हो ।
दलीय क्षेत्रको प्रतिनिधित्व गर्दै आए पनि केही छैन तर सक्षम व्यक्ति आउन पर्यो । अनि दलकै मात्र पनि राख्नुभएन । सक्षम छन् भने सबै क्षेत्रबाट सहभागिता हुनपर्यो । सबै क्षेत्रले आफ्नो क्षेत्रको प्रतिनिधित्व महशुस गर्न सकुन्, अनि पो एनआरएनएलाई सबैले आफ्नो संस्था हो भन्ने अपनत्व अनुभव गर्छन् ।’
‘मैंले एनआरएनए अभियानमा लागेर कमाउने, पाउने र स्वार्थ लिने केही पनि कुरा छैन,’ शेरचनले आफ्नो उम्मेदवारी घोषणाबारे प्रष्ट्याउँदै भने, ‘स्वार्थको लागि नभई निष्पक्ष तबरले संस्थालाई अघि बढाउने र सक्षम संस्था बनाउने मेरो इच्छा र योजना हो । ‘
जापानको एनसीसीलाई कसरी मजबुत बनाउने ? भन्नेमा आफूले त्यहाँको भूमिका कसरी निभाउने प्रष्ट पार्दै शेरचनले भने, ‘एनआरएनए जापान भन्ने बित्तिकै सबैले सकारात्मक दृष्टिकोणले हेर्ने बनाउने लक्ष्यसहित आईसीसीमा रहेर योगदान गर्न उम्मेदवारी दिएको छु । मलाई विश्वास छ, सहमतिमै जापानबाट आईसीसीमा सबै क्षेत्रको तर्फबाट सक्षम व्यक्तिहरुको प्रतिनिधित्व हुनेछ ।’
यसमा जापानवासी सबै नेपालीको भूमिका र सहयोगको अपेक्षा समेत राखेको शेरचन बताउँछन् ।
