भनिन्छ, दुःखीलाई दुःखले नै खान्छ । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाले पनि दुःखै दुःखमा जीन्दगी गुमाए । आफ्नी श्रीमतीलाई फोनमा ‘गाह्रो भयो !’ भन्दाभन्दै भुइँमा ढलेका उनी फेरि उठ्न सकेनन्, अन्ततः सधैंका लागि ढलिरहे ।
गत २ भदौ शनिबार पर्सास्थित १३ नम्बर गण प्रमुख रहेका उनले अरुभन्दा फुर्सदिलो दिनको सदुपयोग गरे, साइक्लिङबाट । बिहानैदेखि गणबाट निस्किएका उनी बारा जिल्लाका विभिन्न जंगली बाटोहरु पार गर्दै केही घण्टामा निवास फर्किए, थकानसहित ।
कसैसँग केही भन्न भ्याएनन् । अप्ठेरो हाउभाउमा पसिना पुछ्दै कोठाभित्र छिरेका उनको अर्को हातमा मोबाइल थियो । कास्कीको पोखरामा रहेकी श्रीमतीसँग आफूलाई परेको अप्ठेरो फोनमार्फत सुनाइरहेका थिए ।
तर, उनले श्रीमतीलाई सुनाउनुपर्ने जति कुरा सुनाउन पाए, न त श्रीमतीले नै भन्नुपर्ने सबै कुरा भन्न पाइन् । किनभने, बोल्दाबोल्दै एक्कासी उनको बोली रोकियो । धेरै बेर नबोलेर फोन खसेको आवाज सुनेपछि श्रीमतीले उनको बडिगार्डलाई भनिन्, ‘उहाँ बोल्दाबोल्दै बोल्नै छोड्नुभयो । के भएको होला ?
त्यसपछि बडिगार्ड उनलाई के भएको भनेर हेर्न गए । जहाँ उनी ढलिसकेका थिए । लगत्तै उनलाई त्यहाँबाट सीधै अस्पताल पुर्याइयो । अस्पताल पुग्नासाथ चिकित्सकले भने, ‘हि इज नो मोर !’ (उहाँ जीवित हुनुहुन्न !)
आफूले कमाण्डो तालिम गरेकोमात्र नभई अरुलाई उक्त तालिम गराउनमा पनि सिपालु मानिने उनको आदत थियो, व्यायामको । फुर्सद हुनासाथ शारीरिक बनावटमा ध्यान दिने उनी प्रायः लामो साइकल यात्राबाट आनन्द लिने गर्थे ।
साइक्लिङलाई व्यायामक्रियामा पूरै शरीर प्रभावित हुने अभ्यास मानिन्छ । तर, मौसम, रक्तचाप र शरीरमा पानीको सन्तुलन बिग्रियो भने यस्तो व्यायाम जोखिमपूर्ण हुने गरेको छ ।
यस्तै हुँदा नेपालगञ्ज निवासी नेपाल प्रहरीका तत्कालिन बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रमान श्रेष्ठ धरानमा व्याडमिन्टन खेल्दाखेल्दै ढले । ८ वर्ष भयो, होस खुलेको छैन ।
बेलाबेला शारीरिक सन्तुलनमा गडबडी हुँदा एसपी थपलिया त्यसअघि पनि ढल्ने गरेका थिए । त्यसैले उनलाई शुभचिन्तकहरुले बढी व्यायाम नगर्न सुझाव दिन्थे । उनले भने व्यायामलाई नशाकै रुपमा लिए ।
नुवाकोट पुख्र्यौली थलो र काठमाडौंको नेपालटार बस्ने उनी काठमाडौंमा हुँदा नागार्जुन जंगल, ओशोतिर साइक्लिङमा रमाउँथे । सशस्त्र मुख्यालयभित्रैको फिटनेश सेन्टरमा बाँकी व्यायाम गर्ने उनले सरुवा भएर वीरगञ्ज गएपछि पनि यस्तो क्रम जारी राखे ।
गणको कमाण्ड गर्नुपर्ने कारण सधैं समय कम हुँदै थियो । शनिवारको छुट्टीमा भने लामो दूरीको साइकल यात्रा रोज्थे । भनिन्छ, उनलाई मौसम र स्वास्थ्य सन्तुलनले साथ दिएको थिएन । बारा–पर्सा भनेको सामान्यतया काठमाडौंको तुलनामा ८ देखि १० डिग्री तापक्रम बढी हुने ठाउँ हो ।
पसिनाको अत्यधिक बहावले शरीरमा शिथिलता आउनुका साथै मुटु र फोक्सोको बीचको सम्पर्कलाई अवरुद्ध पार्ने खतरा बढी हुन्छ । किनभने, पसिना बगेसँगै शरीरमा पानीको कमी भइरहेको हुन्छ ।
चिकित्सकहरुले अत्यधिक थकानकै स्थितिमा पानी पिउने कार्यलाई खतरापूर्ण मान्ने गरेका छन् । अनुमान छ– या त प्यास खप्न नसकेर कतै सुमनले थकित स्थितिमै पानीको अत्यधिक सेवन गरे, जसले गर्दा मुटु र फोक्सोको नियमित क्रियालाई अवरोध पुर्यायो ।
या, शरीरमा पानीको चरम अभाव हुँदा फोक्सोले मुटुलाई दिनुपर्ने जति अक्सिजन पुर्याउन सकेन । त्यसैले उनी ढले, उठ्न सकेनन् । त्यहीबीचमा मुटु अवरुद्ध भयो ।
ढल्ने क्रम उनको हकमा पहिलो थिएन । त्यसअघि पनि समय समयमा ढल्ने र उठ्ने गरेका थिए । दक्षिण सुडानको मिशनमा हुँदा त्यसरी नै ढले । तत्कालै उपचार पाएका कारण ज्यान जोगियो । शनिबार भने उठेनन्, सारा हितैषीलाई रुवाएर बिदा भए ।
अनुमानहरु जे–जस्ता भए पनि सुमनका जीवनमा दुःख नै दुःख थिए । दाइले नेपालटारस्थित तीन तले घर धितोमा राखे । बैंकको ऋण खाएर बेपत्ता भए ।
सुमनको जागिर थियो, जीवन जसै चलेकै थियो । श्रीमती पोखरा बस्छिन्, सन्तान छैनन् । भाइ थिए, गत वर्ष हृदयघातका कारण निधन भयो ।
जागिरको दुःखबाट आर्जित रकमले नेपालटारमा आफ्नै स्वामीत्वको घर निर्माण गरिरहेका थिए । घर त जसोतसो बन्ला, तर त्यहाँ सुमनको बास नहुने नै भयो ।
वीरगञ्ज जानुअघि सुमन हल्चोकस्थित सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा थिए । वीरगञ्ज समस्याग्रस्त भएपछि उनलाई पठाइएको हो । उनी आफ्नो व्याचबाट पहिलो लटमा एसपी हुनेभित्र पर्छन् । तर, अब उनी कहिल्यै फर्किने नगरी विदा भएका छन् ।
अब विदा सुमन सर ।
