गत बुधबार अर्थात असार २० गते अन्दाजी ३ बजेको समयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नायारणकाजी श्रेष्ठ भरतपुर विमानस्थल, चितवनमा उत्रिए । प्रचण्ड गर्मीका कारण बाहिरको तापक्रम अत्याधिक थियो ।
दुई जना सुरक्षाकर्मी र एकजना स्वकीय सचिवसहित विमानस्थलमा उत्रिएका मन्त्री श्रेष्ठको स्वागतमा जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, पार्टीका नेता कार्यकर्ता एवं पत्रकारहरुको उपस्थिति थियो ।
स्वागतपछि मन्त्री श्रेष्ठ विमानस्थलमा रहेको भिआईपी कोठामा गए । उनको अनुहार मलिन थियो । मन्त्री श्रेष्ठसँगै पछिपछि सिडिओ, सुरक्षाकर्मी, नेता कार्यतकर्ता तथा पत्रकारहरु पनि उक्त कोठामा छिरे ।
सोफामा बसेका मन्त्री श्रेष्ठलाई पत्रकारहरुले घेरा हालेर प्रश्न सोध्न थाले । पत्रकारले सोधे :- ‘ठूला मान्छेलाई छाड्न लाग्नुभएको छ रे नि, खास कुरा के हो मन्त्रीज्यू ?’
त्यसपछि उनी मुसुक्क हाँसे । प्रश्नको उत्तर दिन लागे । मन्त्रीले भने, ‘सरकारले गरेको राम्रो कामलाई राम्रो भनुम न । किन सधैं नराम्रो मात्र देख्ने । पछिल्लो समय सरकारले राम्रो काम गरिरहेको छ, त्यो जगजाहेर नै छ त ।’
यसरी नै २/३ वटा प्रश्न पत्रकारहरुले सोधे, उनले उत्तर दिए । त्यहाँबाट मन्त्री श्रेष्ठ सिधै भरतपुर प्रहरी शिक्षालय जाने कार्यक्रम थियो । निस्किँदै गर्दा उनले ज्यान यहाँ भएपनि मन जति सबै काठमाडौंमा रहेको प्रसंग सुनाए ।
जतिबेला धेरैलाई यो कुराको चासो पनि भएन । सुरक्षाकर्मीको स्कटिसहित १० मिनेटको दुरीमा रहेको भरतपुर प्रहरी शिक्षालयमा मन्त्री श्रेष्ठ पुगे । बैठक हलमा एउटा सोफा राखिएको थियो । त्यहिँ गएर बसे ।
साइडमा सँगै चितवनका सिडिओ थिए । उनीहरु आपसमा कुराकानी गर्दै थिए । मन्त्री स्वागतको लागि भनेर शिक्षालयले आफुले सकेको सर्भिस दिइरहेको थियो ।
उनीहरुसँगै भरतपुर शिक्षालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दुर्गा सिंह, बागमती प्रदेशकी प्रमुख किरण राना, चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीलगायत अन्य सुरक्षाकर्मी, राजनीतिककर्मीहरु पनि सहभागि थिए ।
जतिबेला पनि मन्त्री श्रेष्ठले विमानस्थलमा भनेको कुरा दोहोर्याए ‘ज्यान यहाँ भएपनि मन उतै छ’ । उनले यसो भन्नुको अर्थ धेरैले नबुझे पनि केहीले बुझेका थिए । अनि एकजना पत्रकारले सोधेः के भन्न खोज्नुभएको मन्त्रीज्यू ?
त्यसपछि त्यहाँ एकले अर्कालाई बुझाउने प्रयास भयो । मन्त्री श्रेष्ठले पनि भने, ‘मिटरब्याजसम्बन्धी अध्यादेश । सरकारले पीडितको लागि मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएको छ । आज प्रतिनिधिसभाको बैठक छ ।
नेकपा एमालेले अनेक फण्डा झिकेर संसद चल्न नदिने मुडमा छ । त्यसैले संसद चल्न नदिएको अवस्थामा पारित नभएर निष्क्रिय हुन्छ कि भनेर चिन्ता लिएको हो । हेरौं के हुन्छ बेलुकासम्म थाहा भइहाल्छ नि ।’
मन्त्री श्रेष्ठले यति बताएपछि सबैजना चुपचाप बसे । केही समयपछि शिक्षालय परिसरमै आयोजना भएको फुटबल खेल हेर्न पुगे । प्रमुख अतिथिको रुपमा पुगेका श्रेष्ठले फुटबल खेलको उद्घाटन गरे । खेल सुरु भयो ।
मञ्चमा बसेका उनी खेलतिर भन्दा बढी मोबाइल चलाएर बसिरहे । जतिबेला काठमाडौंमा प्रतिनिनिधि र राष्ट्रिय सभाको बैठक सुरु पनि भएको थियो । खेल हेर्दै पनि उनी बेला बेलामा मोबाइलमा अनलाइन पोर्टलमार्फत समाचारहरु हेरिरहेका थिए ।
मिटरब्याजसम्बन्धी अध्यायदेश के होला भनेर चासो लिएर बसेका मन्त्री श्रेष्ठ मञ्चमा बस्दै गर्दा आयोजकलाई बोलाएर सोधे : अब कति मिनेट बाँकी छ खेल सकिन ? आयोजकले भन्यो २० मिनेट । ढुक्कसँग बस्न सकेका थिएनन् उनी ।
जतिबेला काठमाडौंमा राष्ट्रियसभा बैठक स्थगित भइसकेको थियो । राष्टियसभा बैठक स्थगितसँगै मिटरब्याजसम्बन्धी अध्यायदेश समेत निष्क्रिय भएको मन्त्री श्रेष्ठले थाहा पाइसकेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले दिल्लीमा कुरा राखेको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।
तर, उनको अनुहारमा कुनै फरकपन आएन । कार्यक्रमको अन्तिमसम्मै बसे । आयोजक र खेलाडीहरुलाई हौसलास्वरुप पुरस्कार वितरण गरे । प्रथम हुनेलाई बधाई दिँदै द्धितिया हुनेलाई अझ राम्रोसँग खेल खेल्न हौसला दिए ।
जब कार्यक्रम सकियो, मन्त्री श्रेष्ठ पुनः शिक्षालयको बैठक कोठामा गए । एकछिन उनले दलका नेता तथा कार्यकर्तासँग छलफल गरे । अनि सामूहिक रुपमा सुरक्षाकर्मी, नेता कार्यकर्ता र पत्रकारहरुसँग छलफलमा व्यस्त भए ।
अनि त्यो बेलामा पनि उही कुरा दोहोर्याए, ज्यान यहाँ भएर के गर्नु, मन सबै उता छ । जसरी हुन्छ मिटरब्याज पीडितहरुलाई न्याय दिनुपर्ने मेरो कर्तव्य हो । भोलिको कार्यक्रम छोट्याएर बिहानै काठमाडौं जान्छु ।
अनि आफ्नो स्वकीय सचिव सुरेशकाजी श्रेष्ठसँग उनले कानेखुसी गरे । सुरेशकाजीले हस हुन्छ भन्दै बाहिर निस्के । त्यसको केही समयमा मन्त्री श्रेष्ठको फेसबुक पेजमार्फत मिटरब्याज सम्बन्धी स्ट्याटस आयो ।
जसमा लेखिएको थियो
धेरै समयपछि आज पुनः सामाजिक सञ्जालमा आएको छु ।
आज म धेरै आहात भएको छु । आज प्रतिनिधिसभाबाट मिटरब्याज सम्बन्धी विधेयक पारित हुनुपथ्र्यो । तर गरिएन । आजैदेखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्क्रिय भएको छ । यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने स्पष्ट भएको छ ।
तर सामन्ति शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ । पीडितलाई न्याय दिने यो अभियानलाई असफल पारियो भनेर पिडक वा तिनका पक्षधरहरुले सोचेका छन भने त्यो ठुलो भ्रम हो । पीडितलाई न्याय नदिलाई विश्राम लिइने छैन ।
आयोगले काम जारी राख्नेछ । प्रजिअ कार्यालयमा सहजिकरण समितिको काम निरन्तर अघि बढ्नेछ । विधेयक संसदको प्रक्रियामा छ । अघि बढाइनेछ र कानुन बनाइ छाडिनेछ । तसर्थ पीडितहरुलाई निराश नहुन र सक्रियताका साथ यो मुक्ति अभियानमा निरन्तर लागिरहन अपील गर्दछु । न्याय र विजय सुनिश्चित छ ।
मन्त्री श्रेष्ठको भनाइ र फेसबुक स्ट्याटसपछि धेरैलाई लागेको छ, उनमा केही गर्ने हुटहुटी छ । देशको लागि साँच्चीकै आवश्यक व्यक्ति हुन् । त्यसैले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सिकौं ।
